धनुषा – धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ ।

एक किशोरको अवस्था गम्भीर छ । सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो । गम्भीर घाइते १९ वर्षीय सुरेन्द्र यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै सबैला– २ का हुन् ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार लुइँटेलका अनुसार घटनास्थलमा प्रहरी पुग्दा ज ६ प ६७३९ नम्बरको मोटरसाईकल दुर्घटनाग्रस्त र पाँचजना गम्भीर घाइते अवस्थामा भेटिएका थिए । तत्काल प्रदेशिक अस्पताल पुर्याइएकोमा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।
‘घटना कसरी भयो, मोटरसाइकल ठोकिएको हो वा कुनै सवारी साधनले ठक्कर दिएर फरार भएको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ ।’
















