काठमाडौँ – हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो।

यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ। यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो। साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन्। १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ। जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो।

















