खाेज्नुहाेस

चुनावलाई एक लाख म्यादी प्रहरी माग, ४० दिनमा ४ अर्ब ४४ करोड बढी खर्च हुने

Image

काठमाडौँ – सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर एक लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो । चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । म्यादीको कार्यावधि ४० दिन तोकिएको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म १८ वर्ष उमेर पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन सक्ने मापदण्ड बनाइएको छ ।

attariya hospital

आवेदन दिने व्यक्ति कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुर नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको ५ फिट २ इन्च र ५० केजी तौल, महिलाको हकमा ५ फिट उचाइ र तौल कम्तीमा ४२ केजी हुनुपर्ने सर्त राखिएको छ ।

navjiwan hospital

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायमा काम गरी निवृत्तिभरणमा निस्किएका र विगतका निर्वाचनमा म्यादी भर्ना भएकालाई भर्नाका लागि प्राथमिकता दिइने म्यादी प्रहरी भर्ना छनोट कार्यविधिमा उल्लेख छ ।

यस्तै, २०७८ साउनदेखि सेना, प्रहरी र सशस्त्रमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्नेलाई पनि म्यादी भर्नामा प्राथमिकता दिइनेछ । तर, विगतका चुनावमा गरिएका म्यादी भर्नामा पूर्वसुरक्षाकर्मीहरूको उपस्थिति निकै कम देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगतमा १ प्रतिशतभन्दा कम मात्रामा पूर्वसुरक्षाकर्मी म्यादीमा भर्ती भएका थिए ।

चैत १५ देखि छनोट प्रक्रिया अघि बढाएर २२ गते अन्तिम नतिजा प्रकाशित गरिने तालिका छ । छनोट भएका जनशक्तिलाई चैत २८ बाट प्रशिक्षण दिइनेछ । म्यादीको कार्यावधि अधिकतम ४० दिनको हुने मापदण्ड बनाइएको छ । एक जना जवानले मासिक आधारभूत पारिश्रमिक २२ हजार ६ सय ६० पाउँछन् । यो स्केलअनुसार ४० दिनका लागि एक जना म्यादीले ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक पाउने छन् । त्यस्तै ४० दिनका लागि रासन भत्ताबापत एकमुष्ट ७ हजार २ सय र उच्च हिमाली जिल्लाको हकमा जिल्ला दररेट निर्धारण समितिले तोकेको स्केलका आधारमा रासन भत्ता दिइनेछ । पोसाक भत्ताबापत एकमुष्ट ६ हजार रुपैयाँ उपलब्ध गराइनेछ । सरकारले तोकेको यो आँकडाअनुसार १ लाख म्यादीका लागि पारिश्रमिकबापत ३ अर्बभन्दा बढी बजेट खर्च हुनेछ ।

त्यस्तै पोसाक भत्ताबापत ६० करोड, रासन भत्ताबापत ७२ करोड छुट्याइएको छ । सबै शीर्षकमा म्यादीका लागि मात्रै ४ अर्ब ४४ करोड ४० लाख रुपैयाँ खर्च हुने देखिएको छ ।

सशस्त्र प्रहरीलाई एरिया सुरक्षा र आवश्यकताअनुसार निर्वाचनको बाहिरी सुरक्षा घेरामा खटाइनेछ । यसैगरी मतदान स्थल र मतदान केन्द्रमा प्रहरीको कमान्डमा म्यादीसहितलाई खटाइनेछ । सामान्य सुरक्षा चुनौती भएका मतदान स्थल/मतदान केन्द्रमा ३ प्रहरी र ४ म्यादी, संवेदनशील मतदान स्थलमा ५ प्रहरी र ६ म्यादी तथा अति संवेदनशील मतदान स्थल/केन्द्रमा ५ प्रहरी र ६ म्यादी खटाइने गरी सुरक्षा कार्ययोजना बनेको छ । तर, अघिल्ला निर्वाचन कार्ययोजनाअनुसार सुरक्षा व्यवस्थापन गर्दा जनशक्ति अपर्याप्त हुने भन्दै ८० देखि ९० प्रतिशत सुरक्षाकर्मी निर्वाचनमा केन्द्र्रित गर्नुपर्ने अवस्था आएको गृह मन्त्रालयका एक अधिकारीले बताए । २०७४ को स्थानीय तह निर्वाचनमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । यस पटक भने एकै चरणमा निर्वाचन हुने भएकाले जनशक्ति बढी लाग्ने देखिन्छ ।