अत्तरिया – भारतको पंजाबबाट घर फर्किदा बिच बाटोमै लुटिएर सम्पर्क बिहिन भएका बैतडीको पंचेश्वर गाउँपालिका – ४ आम्चौराका २७ बर्षिय भगवान चन्दको उद्दार गरिएको छ । उनको बिच बाटोमै सम्पर्क बिहिन भएको ४ दिन पछि उद्दार गरिएको हो ।
पंचावमै बस्ने उनका आफन्त जय चन्दका अनुसार उनी पुस २१ गते पंजावबाट बैतडीका लागि डिहेका थिए । घर फर्किने क्रममा हरिद्धार पुग्नु भन्दा अगाडी उनी सम्पर्क बिहिन भएका थिए । तिन दिन सम्म खोजि गर्दा पनि नभेटिएपछि उनका आफन्तले सामाजिक संजाल फेसबुकको सहायता लिएका थिए ।


सामाजिक संजाल फेसबुकमा तस्बिर र सम्पर्क नम्बर सहित बेपत्ता भएका चन्दका आफन्तले पोष्ट गरेपछि भगवान चन्द फेला परेका हुन । आफन्त जय चन्दका अनुसार सामाजिक संजालमा पोष्ट गरेपछि भगवान चन्द बेहोस अवस्थामा भेटिएको ठाउँबाट एक स्थानियले फोन गरेका थिए । सोही आधारमा खोजी गर्दा उत्तराखंडको हल्द्वानी भन्ने ठाउँदेखि २ किलोमीटर अगाडी रहेको कुबरपुरमा भगवान चन्द फेला परेका थिए ।
जयका अनुसार उनी ४ दिन पछि पनि बेहोस अवस्थामा फेला परेका थिए भने उनको साथमा भएको २६ हजार भारतीय रुपैयाँ र झोला लुटिएको थियो ।
उद्दार गरिएका भगवानलाई रकम संकलन गरी घर पठाउने तयारी भएको आफन्त जय चन्दले बताएका छन ।
















