अत्तरिया – सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज पनि बर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि दिएको छ । ‘सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन रचट्याङसहित हल्का वर्षाको रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

















