कञ्चनपुर – कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि नेपाल फर्कनेको संख्या बढेसँगै यहाँ पनि सो संख्यामा वृद्धि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । मङ्गलबार मात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको छ ।

कोरोना परीक्षणको नतिजा पोजेटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् । बाँकी सबै होम आइसोलेशनमा छन् । यसैगरी सीमानाका त्रिनगर हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ ।
हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ । हालसम्म आठ हजार ८२३ जना निको भएका छन् ।
हालसम्म २०५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ रहेको छ । भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन् ।
नेपालबाट भारततर्फ जानेको सङ्ख्या ४३५ रहेको छ । सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संख्या ३०९ तथा भारततर्फ जानेको संख्या २५९ छ ।
रासस

















