सिमकोट – केही दिन अगाडिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका दुई बिरामीको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो ।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लगिएको आफन्त रेछिङबहादुर लामाले बताए ।

‘आफ्नै निजी खर्चमा बिरामीको उद्धार गरेका हौ’ उनले भने ‘ गाउँघरमा उपचार सम्भव नहुने भएपछि थप उपचारका लागि रु. ७ लाख ५० हजार महङ्गो हवाई भाडा तिरेर काठमाडौँ लगिएको छ ।’
काठमाडौँबाट नाइनएन–एजेआरको समिट एरलाइन्सको फिस्टेल हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो ।
हिउँदयाममा यस क्षेत्रमा अत्यधिक चिसो हुनुका साथै स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मी नियमित नहुँदा सिधै काठमाडौँबाट हेलिकोप्टर मगाएर महङ्गो खर्चमा बिरामीले उपचार गर्नुपर्ने बाध्यता छ ।
यातायात सुविधा नहुँदा विरामी हुँदा हुम्लीले हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था छ । बिरामी आफँैले हेलिकोप्टर रिजर्भ गर्दा रु. सातदेखि १० लाखसम्म भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

















