धनगढी – कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।
तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए ।


सोही निवेदनमा टिकेर अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
टीकापुर अस्पतालले केही दिनअघि ल्याब सम्बन्धीका सामान खरिद गरेको थियो । त्यसमा ल्याब इन्चार्जसहितलाई आर्थिक अनियमितताको आरोप लगाएर तिवारीले मेसुलाई उजुरी दिएका थिए । सोही विषयमा सोमबार दिउँसो तिवारीकै कार्यकक्षमा छलफल भइरहेका बेला बावबिवाद भएपछि आफूसँग बिना कारण निहुँ खोज्ने भन्दै बजगाईं आफ्नो कार्यकक्षतिर गएका थिए ।
सोही क्रममा तिवारीले उनीमाथि कुटपिट गरेका थिए । तिवारीले बजगाईंमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न अस्पताल व्यवस्थापन समितिले पनि समिति गठन गरेको छ । प्रहरीले पनि उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















