धनगढी – नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट नारायण मिश्र उम्मेदवार बन्ने भएका छन । माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि प्रदेशबाट मिश्रलाई उम्मेदवारी बनाइएको हो ।
मिश्र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा पराजित भएका थिए । उनी जिल्ला विकास समितिका पूर्वसभापति पनि हुन् ।

कांग्रेसको केन्द्रीय समिति बैठकले कांग्रेसले प्रदेश नम्बर–१ बाट गोपालकुमार बस्नेत, वाग्मती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र लुम्बिनी प्रदेशबाट युवराज शर्मामालाई उमेदवार तोकेको छ ।

कांग्रेसले गठबन्धनको बाँडफाँडमा उमेदवारीको भागबण्डा तय भएको भन्दै गठबन्धनका उमेदवारलाई मतदान गर्न आह्वानसमेत गरेको छ । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।
आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि चुनाव हुँदैछ ।
यसअघि नेकपा एमालले पनि राष्ट्रिय सभाका लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ । उसले ७ वटै प्रदेशबाट १९ जना उम्मेदवारको नाम टुङ्ग्याएको हो ।
जसमा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

















