खाेज्नुहाेस

विकाशको गती लिदै डडेल्धुराका दुर्गम बस्ती

Image

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिए । सादनी खोलामा बनिरहेको मोटेरेव पुलको अवलोकन गरिरहेका उनी २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाई सरी यहाँ आएका हुन् ।

उनले विगतका तुलनामा यहाँको बस्तीमा विकासले गति लिन थालेकाको भन्दै खुसी व्यक्त गरे । ‘बस्ती बस्न सुरु गर्दाका दुःख त अहिले शब्दले वर्णन गर्न सकिन्न’ उनले भने, ‘अहिलेको विकासको सुरसार हेर्दा पछिका सन्नतिलाई सुविधा गाउँमै प्रशस्त होला भन्ने आश छ ।’

attariya hospital

डडेल्धुरा सदरमुकामबाट परशुराम नगरपालिका कार्यालयबाट करिब ९० किलोमिटर दक्षिण परशुरामको ७ नम्बर वडामा प्रवेश गर्ने मुख्य नाका रहेको सादनी खोलामा पक्की पुल निमार्ण हुन थालेपछि सादनी र मलास क्षेत्रका करिब ६०० घरधुरीलाई आवागमनमा सहज हुने भएको छ । ‘दार्चुलाबाट यहाँ आउँदा तोरी पेल्न दिनभरि लगाएर महेन्द्रनगर पैदल जान्थ्यौँ’ बोहराले भने, ‘अहिले त पुलपुलेसा, स्कुल, स्वास्थ्य संस्था बस्तीमै आए ।’

उनले सादनी खोलामा विगतमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको बताए । ‘अहिले पनि महाकाली नदीमा किस्ती, टियुव चडेर महाकाली तरेर किनमेलदेखि उपचारसम्मका लागि यहाँबाट भारतको टनकपुर जान्छौँ’ उनले भने, ‘कोरोना कहरपछि किस्ती चल्न सकेको छैन ।’ उनले जिल्ला सदरमुकामसित दूरीका हिसावले टाढा रहे पनि भारतीय बजारसित निर्भर हुनुपरेको सनाए ।

‘विसं २०४५ यता महाकालीमा किस्ती चलेर भारत ओहोरदोहोर गर्न थालिएको हो’ उनले भने, ‘पहिलोको भन्दा विकास भइरहेको भए पनि अझै बस्तीमा विविधताले समस्या छन् ।’ त्यसैगरी सादनी खोलामा निमार्णाधीन पुल छेउमा व्यापारी गर्दै आएका सादनीका स्थानीय हरिश भण्डारीले विगत चार वर्षयता बस्तीमा विकास निमार्ण भइरहेको बताए ।

‘अहिले पनि भौगोलिक दृष्टिकोणले जिल्लार्कै विकट क्षेत्रमा हाम्रे वडा पर्छ’ उनले भने, ‘सडक सञ्जाल विस्तारदेखि अन्य संरचना बन्दा गाउँमा अलि सहज भएको छ ।’ भारतीय बजारमा गएर दिनचर्या गुजार्नुपरेको बताउँदै भण्डारीले मलास क्षेत्रकै धेरै बस्तीमा अझै गोरेटो बाटो मात्रै निमार्ण भएको बताए । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ, दार्चुला, बैतडीलगायतका जिल्लाबाट बसाइसरी यहाँ बसोबास दशकौँदेखि गर्दै आएका छन् ।

navjiwan hospital

‘यहाँबाट उपचारका लागि जानु प¥यो भने दिनभरि जसो लाग्छ’ उनले भने, ‘यहाँबाट महाकाली तरेर भारत जाने हो भने तीन घण्टामा उपचार गरेर घर फर्किन्छौँ ।’ विगतमा सादनी खोलामा पुल नहुँदा विद्यार्थीहरु मारमा पर्ने गरेका थिए । वर्षातका बेला सादनी खोला तर्न नसक्दा जोगबुढा बजार जानसमेत समस्या हुने गरेको थियो । ‘पारी चन्दनीमा रहेको सिद्ध बैजनाथ स्कूल जाँदा हाम्रा छोरा छोरी वर्षातमा सक्दैन थिए’ उनले भने, ‘पुल बन्न थालेपछि गाउँमा खुसियाली छाएको छ ।’

परशुराम नगरपालिकाको जोगबुढा बजारबाट सादनी क्षेत्रमा पुग्ने कच्ची सडक अझै स्तरोन्नति हुन सकेको छैन । महाकाली करिडोर निर्माणअन्तर्गत पर्ने सडकको ट्रयाक खोलिए पनि अझै उक्त सडक निमार्णको काम भने कछुवा गतिमा छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी सीमानासम्म जोड्ने महाकाली करिडोरको सडक निमार्ण भए जोगबुढा क्षेत्रको विकासमा टेवा पुग्नेमा स्थानीयवासी आशावादी छन् ।

‘सादनीमा बनिरहेको पुल पनि करिडोर अन्र्तगत पर्ने नै हो’ उनले भने, ‘अब करिडोर निमार्णलाई पनि गति दिन सके दुर्गम बस्तीको पनि मुहार फेरिने आशा छ ।’ पुल निमार्णको जिम्मा पाएको लुम्बिनी, कुमार, राजेन्द्र जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुल निमार्ण दु्रत गतिमा भइरहेको बताए । ‘फिल्डमा काम सुरु भएको अढाइ महिना हुँदा ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ’ उनले भने, ‘हामीले आगामी असोजसम्म निर्माण सक्ने लक्ष्यअनुसार अघि बढिरहेका छौँ ।’ निमार्णको अवधि ४२ महिना रहेको निर्माण कम्पनीले जनाएको छ ।

त्यसैगरी परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशबसिंह बोहराले पहिलोपटक वडालाई मोटरेवल पुल बनिरहेको जानकारी दिए । ‘वडालाई जोड्ने अरु दुई स्थानमा यसअघि झोलुङ्गे पुलले जोडेको छ’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि आइसकेपछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकासमा टेवा पुगेको छ ।’ उनले तराई जोड्ने सडकको ट्रयाक खोल्ने काम पनि वडास्तरबाट भएको बताए ।

‘गाउँमा मात्रै करिब ४० किलोमिटर कच्ची सडक हामीले खोलेका छौँ’ उनले भने, ‘स्वास्थ्य सुविधा पु-याउनेदेखि गाउँमै प्रवीणताप्रमाण पत्र तहसम्मको शिक्षा पु-यायौँ ।’ उनले सादनी र मलास क्षेत्रका बस्तीको विकासका लागि चाँडो महाकाली करिडोरको सडक निर्माण आवश्यक रहेको बताए । उनले महाकाली करिडोरअन्तर्गत जोगबुढा क्षेत्रमा ट्रयाक खुलाउने काम भइरहेको बताए ।

कञ्चनपुरको सुडादेखि चुनापानी, गैरीखान सादनी जोड्ने १८ किलोमिटर सडकको ट्रयाक वडाकै पहलमा खोलिएको बताए । ‘त्यो सडकको चौडाइ गर्ने सरसफाइका लागि प्रदेश सरकारको पनि सहयोग रहेको छ’ उनले भने, ‘कञ्चनपुरको झिलमिलादेखि गैरीखानसम्मको १५ किलोमिटर सडक खोल्ने कार्य पनि गरेका छौँ ।’

उनले स्वास्थ्य सेवामा पनि आफूहरुले प्रयोगशाला लगायतका संरचना बस्तीमा सञ्चालनमा ल्याइएको बताए । ‘नागरिकलाई सेवा प्रवाह हुने र विकासको आभास दिलाउने गरी हरदम प्रयास गरेका छौ’ उनले भने, ‘थोरै भए पनि विकट बस्तीमा नागरिकले सुविधाको सुगन्ध भने पाइरहेका छन् ।’

रासस