आन्तरिक पर्यटकको रोजाइमा डोटीको छहरा
डोटी – डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा रहेको छहरा आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्न सफल भएको छ । कोरोना कहरका कारण लामो समयदेखिको निषेध आदेश खुकुलो भएसंगै छहरामा रमाउन आउँने आन्तरिक पर्यटकको संख्या उच्च छ ।
सामाजिक सञ्जालको माध्यमबाट प्रचारमा आएको छहरामा रमाउन सुदूरपश्चिम प्रदेशका नभएर अन्य प्रदेशका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत पर्यटकहरु घुम्न आउने गरेका छन् ।
अधिकांसले टिकटक बनाउन र तस्विर खिच्नका लागि लामो यात्रा तय गरेर छहरा पुग्ने गरेका छन् । साथीहरुसंगै कैलालीको अत्तरियाबाट छहरा पुगेका सुसन जोशी तराईको उखरमाउलो गर्मी छल्न कैलालीको खानीडाँडा हुँदै डोटीको छहरा पुगेको बताए ।
उनले लामो दुरी पार गरेर छहरा पुगेपछि रमाईलो भएको बताए । उनले छहरा पुग्नेहरुलाई व्यवस्थापन फितलो हुँदा छहरा पुग्न असहज भएको बताए ।
धनगढीबाट छहरा पुगेका धर्मराज भट्टले मौसम आनन्द भएको बताए । उनले छहरा पुगेपछि तराईको गर्मी बिर्सिएको बताए ।
अर्घाखाचीबाट छहरा हेर्न पुगेका सुधन बाबु अनुरागीले राम्रो लागेको प्रतिक्रिया दिए । ‘टिकटकमा देखेपछि हामी १५ जनाको टोली लिएर आएका छौं’ अनुरागीले भने, ‘सुन्दर मौसम रहेछ । रमाईलो भइरहेको छ ।’
धाडिङ घर भई हाल धनगढी कार्य क्षेत्र बनाएर काम गरिरहेका दिपक राईले टिकटकमा भाइरल भएको देखेपछि घुम्न र ब्लग बनाउन छहरा पुगेको बताए ।
‘टिकटकमा भाइरल भएको देखेपछि कस्तो रहेछ भनेर साथीसंग पुगेको छु’ दिपकले भने, ‘वातावरण रमाईलो र आनन्ददायी पायौं ।’
सपरिवार कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरबाट छहरा पुगेका ईश्वर सिंहले टिकटक र फेशबुकमा देखेपछि घुम्न आएको बताए ।
‘टिकटक र फेसबुकमा भिडियो र फोटो देख्दा घुम्न मन लागेको थियो,’ सिंहले भने, ‘छहरामा पुगेर नुहाउँदा हामी सबै खुशी छौ ।’ धनगढीबाट छहरा पुगेका टंक ओझाले एकदम रमाईलो भएको बताए ।
छहराले सुदूरपश्चिमको प्रतिनिधित्व गरेको छ’ टंकले भने, ‘थकान महसुस भएकाहरुलाई यहाँको मौसमले बिर्साइदिन्छ । कृपया एक पटक घुम्न आउँनुहोस् ।’
अस्थायी ट्राफिक प्रहरी पोष्ट बुडरका प्रहरी सहायक निरीक्षक हर्कबहादुर साउँदले बिदाको दिन पाँच हजार बढी छहरा हेर्न आउने गरेको बताए । ‘अन्य दिन दुई हजारको हाराहारीमा आउँछन्’ प्रहरी सहायक निरीक्षक साउँदले भने, ‘शुक्रबार र शनिवार पाँच हजार बढी मानिसहरु आउँछन् ।’
उनले शनिबार १३ सय बढी मोटरसाईकल, २५ बढी हाइस, तीन सय बढी प्राइभेट गाडि आउने गरेको बताए । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि जोरायल गाउँपालिकाले झरनालाई व्यवस्थित बनाउन थालेको छ ।
जोरायल गाउँपालिका वडा नम्बर २ का सदस्य शंकर रावलले छहरा झरनामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम थालिएको बताए । बढ्दो पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो र अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका वडा सदस्य रावलले बताए ।
‘डिपिआर बनाएका छौ’ उनले भने, ‘सोही अनुसार काम अगाडि बढाइरहेका छौं ।’ उनले पर्यटकहरुको चाप बढ्दै गएकाले सडक डबल कटिङ्गलाई प्राथमिकता दिएको बताए । गाउँपालिकाबाट पूर्वाधार विकास गर्नकै लागि १८ करोड बजेट विनियोजन गरेको उनले बताए ।
छहरा आउने पर्यटकहरुको सहजताका लागि जोरायल युथ स्पोर्टस क्लबले समेत सहजीकरण गरिरहेको छ । क्लवका अध्यक्ष दिपेन्द्र मल्लले छहरा भएको ठाउँ तीर्थस्थल समेत भएकाले संरक्षण र पर्यटकको सहजीकरणका लागि काम गरिरहेको बताए ।
उनले छहरा भएको ठाउँमा कपडा परिवर्तन गर्न सहज होस् भनेर सानो टहरा समेत बनाएको बताए ।
‘हामीले नियमित सरसफाई समेत गरिरहेका छौ’ उनले भने, ‘अब शौचालय बनाउँने कामलाई पनि अगाडि बढाएका छौं ।’
२ किलोमिटर पार गर्न हम्मेहम्मे सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट ८६ किलोमिटर उत्तर डोटीको बुडर हुँदै त्यहाँबाट करीब ८ किलोमिटर थप यात्रा गरेर छहरा पुग्न सकिन्छ ।
भीमदत्त राजमार्गको ८६ किलोमिटर र त्यहाँबाट करीब ६ किलोमिटर यात्रा सहज छ । पत्तडामा रहेको खोला पार गर्न दुई पांग्रे सवारीलाई भने अत्यन्त सकस छ ।
खोला पार गरेपछि स्वागत गेटको स्वागतसहित २ किलोमिटर यात्राले भने पर्यटकहरुलाई सास्ती दिने गरेको छ । गेटपछि सिंगल लेनको कच्ची सडक र सडकमा भरिभराउ गाडिका कारण घण्टौं कुर्नुपर्ने हुन्छ ।
गाडि जामका कारण घण्टौं कुर्नुपर्ने हुँदा धेरैजसो पर्यटक त्यही सवारी छोडेर पैदल छहरा सम्म पुग्ने गर्दछन् । सवारी जामका कारण बिचैमा गाडि छोडेर पैदल जादै गरेका दिपक राईले सिंगल लेनका कारण बिचैमा सवारी छोडेर छहरासम्म पुग्नुपर्दा समस्या भएको बताए ।
‘सडक पुरै जाम छ’ उनले भने, ‘गाडिभन्दा हिडेरै छिटो पुगिन्छ भनेर हिडेर जादैछु ।’ पसिनै पसिना भएर हिडिरहेका उनले आफु पहाडकै भएकाले हिड्न सकेपनि तराईबाट आएकालाई हिड्नमा समस्या भएको बताए ।
‘दोहोरो गाडि जाने बाटो छैन सिंगल वे छ’ उनले भने, ‘दोहोरो गाडि चलिरहेको छ । जामका कारण तलै गाडि राखेर हिडिरहेका छौं ।’
छहरा जाँदै गरेका कैलालीका जीवन गौतमले सामाजिक सञ्जालमा जस्तो छहरा पुग्ने सडक सहज नभएको बताए ।
हिडेर पुग्नुपर्ने तर खानाको राम्रो व्यवस्था नहुँदा भोकभोकै हिड्नुपर्ने बाध्यता रहेको उनले बताए ।
उनले भने – ‘जस्तो सोचेको थिए त्यस्तो वातावरण भएन ।’ कैलालीको गौरीगंगाबाट छहरा हेर्न पुगेका शंकर श्रीमालले टिकटक, फेशबुकमा देखेको जस्तो अवस्था नपाएको बताए ।
‘जे देखेका थियौं । सोचेका थियौं त्यस्तो पाएन’ श्रीमालले भने, ‘यति लामो पैदल यात्रा दुखद भयो ।’ अर्घाखाचीबाट छहरा हेर्न ठूलो टिम सहित पुगेका सुधन बाबु अनुरागीले सडकको अवस्था सन्तोषजनक नपाएको बताए ।
छहराको नाममा मतभेद !
झरना एकाएक टिकटकमा भाइरल भएपछि त्यहाँ घुम्न आउने र टिकटक बनाउनेहरुको भिड उल्लेख्य छ । झरना हेर्न आउनेको भिड बढेसँगै स्थानीयले छहरा झरना नाम दिए ।
पछिल्लो समयमा छहरा झरनाको नाममा सामाजिक सञ्जालमा मतभेद बढ्न थालेको छ ।
डोटेली भाषिकामा झरनालाई ‘छडा÷छणो÷छणा’ भनिन्छ । नेपाली वृहत शब्दकोषमा अग्लो ठाउँबाट हुत्तीएर खसेको पानीको छाँगो, प्राकृतिक वा कृतिमरुपमा पानी खसेको ठाउँलाई छहरो, झरना भनिन्छ ।
डोटेली भाषिकामा छडा भनिँदा सबैले बुझ्न गाह्रो भएकाले त्यसलाई नेपाली भाषामा छहरा भनिएको स्थानीय बताउँछन् ।
टिकटकमा झरना भाइरल हुन थालेपछि हतारोमा ‘छहरा झरना’ नाम दिइएको भन्दै अहिले सामाजिक सञ्जालमा छहरा झरना नाममा व्यापक बहस चलको छ ।
तर, स्थानीय जेष्ठ नागरिकले भने त्यसलाई हतारोमा नाम दिइएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् ।
झरनाको पौराणिक लोकोक्ती रहेको भन्दै स्थानीयले पौराणिक कुरालाई नै झरनाको नाम दिइनुपर्ने बताउन थालेका छन् । पौराणिक लोकोक्ती अनुसार सत्य युगमा भगवान विष्णुले दायाँ पाउ खसरेको माथि र बायाँ पाउ फल्टूडेस्थित लोडामा राखेर टाङमुनि बगेर आएकोे कमला नदीको झरनामा टाउको धोएर हिँडेका थिए ।
‘छहरा र झरना एउटै शाब्दिक अर्थ उहीँ हो । तसर्थ बुडरको ‘छहरा झरना’ नभएर कमला झरना या कमला छहरा’ हो ।
झरना कमला नदीबाट खसेकोले यसको नाम कमला झरना हो’ सामाजिक सञ्जाल मार्फत् पत्रकार पुष्पराज जोशी, श्रवण देउवा र भीम चौधरीले ऐतिहासिक पक्षलाई समेटेर झरनाको वास्तविक नाम उल्लेख गरिनुपर्ने भन्दै अभियान चलाएका छन् ।
सामाजिक सञ्जालमा चलाइएको ‘कमला झरना’ अभियानमा कमेन्ट गर्दै डोटीका राजु नेपालीले भनेका छन्, ‘छहरा भनेकै झरना हो अतः कमला छहरा नै उपयुक्त हुन्छ ।’ साहित्यकार हेमन्ता भट्टराईले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अति राम्रो । इतिहास भुल्नु भएन ।’
डोटीको जोरायल क्षेत्रमै पुख्र्यौली घर भई हाल धनगढीमा बस्दै आएका साहित्यकार तथा लेखक टीआर पाठकले पनि कमेन्ट गर्दै लेखेका छन्, ‘कुरो सही । श्री कृष्ण भीमहरुले जरासन्धलाई मारेर यसै मुहानमा शीर थापेर घोप्टो भई स्नान गरेका थिए रे । दायाँ पाउ खसेरको सिरान र वायाँ पाउ किलेलौडामा अड्याएर स्नान गरेका रे । विशाल दह भित्र जरा लुकेर रहदो रहेछ । दह काटेर पानी सबै निकास गरेर जरासन्धलाई मारे । जरासन्धकै नामबाट जरायल हुँदै कालान्तरमा त्यस उपत्यकाको नाम पनि जोरायल हुन गएको हो ।’
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाले झरनाको नामका विषयमा अब अनुसन्धान हुने बताए ।
‘हामी झरनाको विषयमा अध्ययन अनुसन्धानमा लागिरहेका छौँ,’ उनले भने, ‘वास्तविकता के हो अध्ययनमै छौँ, खोजी गरेर बाहिर ल्याउने छौँ ।’
छहरा हेर्न जानेको खानीडाँडामा बास डोटीमा छहरा हेर्न जानेहरुको कैलालीको खानीडाँडामा बास हुने गरेको छ । तराईको उखरमाउलो गर्मीका कारण शनिबारका दिन छहरा हेर्न जानेहरु शुक्रबार बेलुका पुगेर खानीडाँडामा बास बसेर बिहान बुडर उक्लिने गरेका छन् ।
धनगढीबाट करीब ४७ किलोमिटर उत्तर खानीडाँडामा चिसो हुने हुँदा बिशेष गरेर ब्यापारीहरु खानीडाँडा बास बस्न पुग्ने गरेका छन् । गर्मी मौसममा त्यसैपनि भरीभराउ हुने खानीडाँडामा छहराका कारण होटेलमा सुत्ने ठाउँ समेत पाउन छोडेका छन् ।
खानीडाँडामा देउराली चुलो सञ्चालन गर्दै आएका प्रकाश देउवाले शुक्रबार र शनिबार आन्तरिक पर्यटकले होटेल भरिभराउ हुने गरेको बताए । उनले खानीडाँडा क्षेत्रमा अलि स्तरीय ५/७ वटा मात्र होटेल रहेको र हप्ताको दुई दिन पुरा प्याक हुने गरेको बताए ।