धनगढी – नेपाल चिकित्सक संघले आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुव्र्यवहारको विरोधमा स्वास्थ्यमर्कीहरुले आकस्मिक बाहेकका सेवाहरू बन्द गरेका हुन ।
आन्दोलनको प्रभाव सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा पनि परेको छ । आन्दोलनका कारण बुधबार अस्पतालको बहिरङ्ग (ओपिडि) सेवा पूर्ण रूपमा बन्द हुँदा दैनिक उपचारका लागि आउने बिरामी प्रभावित भएका छन् ।


अस्पतालमा नियमित रूपमा सञ्चालन हुँदै आएको ओपिडि सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन् । ओपिडिमा सेवा नपाएपछि अधिकांश बिरामी आपत्कालीन (इमर्जेन्सी) कक्षमा पुग्न बाध्य भएका छन् । यसले इमर्जेन्सी सेवामा अत्यधिक भिडभाड भएको अस्पतालले जनाएको छ । बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीहरूलाई सेवा प्रवाह गर्नसमेत कठिनाइ भएको देखिएको छ ।
अस्पतालका व्यवस्थापक बेदप्रकाश जोशीका अनुसार चिकित्सकहरूको आन्दोलनका कारण बुधबार ओपिडिमा कुनै पनि चिकित्सक उपस्थित भएका छैनन् । उनले आपत्कालीन सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जानकारी दिए ।
साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पु¥याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो । सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै मंगलबार आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको हो ।
















