धनगढी – जाई–जाली सिचाई बाँध सुरु भएको छ । निर्माण सम्पन्न गर्ने सम्झौता अवधीभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको आयोजनाको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे ।
बाँधको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको राजधानी धनगढीको पुरानो क्षेत्र जाली रहेकोले यसैलाई दृष्टिगत गरेर आयोजना निर्माण भएको बताए ।

‘धनगढी प्रदेशकै राजधानी पनि हो । जाली धनगढी उपमहानगरकै पुरानो क्षेत्र हो । यसैलाई दृष्टिगत गरेर आयोजना निर्माण भएको छ । शहर नजिक छ । परम्परागत खेतीभन्दा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । ‘नहरले नगदे बाली खेतीमा सहजता हुन्छ । हाम्रो निम्ति यो महत्वपूर्ण आयोजना हो’ भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले भने ।
‘परापूर्वकालदेखि परम्परागत नहर छदै थियो । जेठ/बैशाखमा बेगारी गरेर कुलो बनाएर सिचाई गर्ने गरिन्थ्यो’ मन्त्री दीर्घबहादुर सोडारीले भने, ‘परम्परागत अवस्थालाई आधुनिक अवस्थामा रुपान्तरण हामीले गरेका छौ । यसबाट तपाईहरुले राम्रो लाभ उठाउनुहुनेछ ।’
लामो समयको संघर्षपछि संघीय लोकतान्त्रीक गणतन्त्र आएको र संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘व्यवस्था परिवर्तन गर्नुको मूल उद्देश्य हाम्रो जीवन पुरानो अवस्थाबाट नयाँ अवस्थामा अलि सहज बनाउँने, राम्रो बनाउँने अवस्थामा छौ’ मन्त्री सोडारीले भने, ‘त्यसको निम्ति यो आयोजना कोशे ढुङ्गा सावित हुनेछ । करिब १० करोड रुपैया लागेको छ । यो सानो रकम होइन् ।’
उनले आयोजनालाई सफल बनाउन, कार्यान्वयनका निम्ति प्रदेश सरकारको तर्फबाट र आफ्नो तर्फबाट जे आवश्यक पर्छ सहयोग गर्न तयार रहेको बताए ।

जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख डम्बर प्रसाद धितालले सुदूरपश्चिम प्रदेश सरकारको ९ करोड ४ लाख ५४ रुपैयामा सिचाइ बाँध आयोजना सम्पन्न भएको बताए । बि.स. २०७६ असोज २३ गते सम्झौता भई २०७८ असोज २२ गते निर्माण सम्पन्न गर्ने गरी केएस रोयल जेभी सम्झौता भएको थियो ।
डिभिजन प्रमुख डम्बर प्रसाद धितालले भने, ‘निर्माण कम्पनीले २०७७ असोज मै निर्माण सम्पन्न ग¥यो ।’ डिभिजन प्रमुख धितालले नहरले ३ सय ७६ हेक्टर क्षेत्रफलमा सिचाइ हुने र सोबाट ३ सय ८० घरधुरी लाभान्वीत हुने बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरीले धेरै समयको प्रयासपछि नहर निर्माण सम्पन्न भएपनि अझै धेरै काम बाँकी रहेको बताए । ‘ठूलो लगानीमा नहर बनेको छ’ वडा अध्यक्ष भागीराम चौधरीले भने, ‘तर, नहरको साइडमा तटबन्ध नबनाए लगानी खेर हुने चिन्ता बढेको छ ।’
पहिले पनि जाई, जाली, हसनपुर, तारानगरसम्म यही नहर लाग्ने गरेको बताउदै चौधरीले भने, ‘उता वस्ती घना र खेती योग्य जमिन कम भएका कारण त्यताका मान्छेले संक्रियता देखाएन । हामी जाली बासीन्दाले लागेर निर्माण सम्पन्न ग¥यो ।’
जाई–जाली निर्माण समितिका अध्यक्ष रामप्रसाद चौधरीले २०६२ सालदेखिको प्रयास सफल भएको बताए । नहर निर्माणपछि स्थानीयहरुले धान र गहुँ खेतीभन्दा नगदे बाली खेती गरेर राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।
‘एक कठ्ठामा धान, गहुँ लगाउँदा पाँच हजार आम्दानी हुन्थ्यो’ अध्यक्ष चौधरीले भने, ‘अहिले सोही क्षेत्रफलमा तरकारी खेती गर्दा १५ हजार बढी आम्दानी भएको छ ।’















