खाेज्नुहाेस

झाडी सफाइ अभियानमा उल्लेख्य जनसहभागिताले उत्साहित विश्वविद्यालय

Image

अत्तरिया – कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरको झाडी सरसफाइ अभियानमा भइरहेको जनसहभागिताले विश्वविद्यालयमा उत्साह थपिएको छ । विश्वविद्यालयले आह्वान गरेको झाडी तथा अनावश्यक वनस्पति सफाइ अभियान अन्तरगत एक सातामै हजारौँको सङ्ख्यामा मानिसहरू सरसफाइ गर्न विश्वविद्यालय परिसरमा पुगेका छन् ।

साउन ४ गते विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले विश्वविद्यालय परिसरमा फैलिएका झाडी तथा अनावश्यक वनस्पति हटाई सरसफाइ अभियानमा सहयोग गर्न आह्वान गरेका थिए । उनको आह्वान पछि साउन ६ गतेदेखि विभिन्न संघसंस्था, विद्यालय, पालिका तथा स्थानीयले स्वतःस्फूर्त रूपमा सहभागिता जनाइरहेका छन् ।

attariya hospital

विश्वविद्यालयका उपकुलपति प्रा. डा. जोशीले सरसफाइ अभियानमा अपेक्षा गरेको भन्दा धेरै सहभागिता भइरहेको बताए । उनले आफूहरूले झाडी सरसफाइका लागि सामाजिक सङ्घसंस्था, युवा क्लब, रेडक्रस, नागरिक समाज, स्थानीय समूह तथा सरोकारवाला निकायहरूलाई आह्वान गरे पनि अपेक्षा गरेभन्दा धेरैले सहभागिता जनाइरहेको बताए । ‘झाडी सरसफाइमा हामीले अपेक्षा गरेको भन्दा धेरै जनसहभागिता भइरहेको छ’ उनले भने ‘यसले सुदूरपश्चिमका जनतामा यो संस्था प्रति कति धेरै माया छ भन्ने देखाउँछ ।’

navjiwan hospital

उनले विश्वविद्यालयमा सबैको अपनत्व होस भन्ने उद्देश्यका साथ सरसफाइ अभियान सुरु गरिएको बताए । ‘यो सबैको साझा जिम्मेवारी हो । यो विश्वविद्यालय सबै मिलेर चलाउनु पर्छ भनेर जसरी आवाज उठिरहेको छ । त्यसरी नै सरसफाइमा पनि सहभागिता भइरहेको छ । यसमा सबैको अपनत्व होस भन्ने होस भन्ने हाम्रो पनि उद्देश्य हो’ उनले भने ‘अहिले गोदावरी नगरपालिकाले दोस्रो पटक सरसफाइ गरिसकेको छ । धनगढी उपमहानगरपालिकाले पनि पुनः हामी आउँछौ भनेको छ । कृष्णपुर नगरपालिकाले पनि पुनः हामी सरसफाइमा आउँछौ भनेका छन् । सशस्त्र प्रहरीले पनि पुनः आउँछौ भनेका छन् । संघसस्थाहरु पनि धेरैले यहाँ सरसफाइ गरिसकेका छन् ।’

उनले ठुलो क्षेत्रफल रहेको विश्वविद्यालय परिसरमा भविष्यमा नियमित झाडी सरसफाइका लागि भने यस क्षेत्रका ठुला पालिका, सुरक्षा निकाय सँग सम्झौता गरेर नै अघि बढ्ने योजना रहेको बताए ।

उनले अब झाडी सफाइ सँगै वृक्षारोपणका लागि पनि अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताए । ‘वृक्षारोपणका लागि मैले विश्वविद्यालयको नक्सा हेरेर कुन ठाउँमा कुन बिरुवा रोप्न उपयुक्त हुन्छ भनेर योजना बनाउन भनेको छु । जसका लागि सरोकारवाला निकाय सँग पनि सल्लाह लिँदै छौ’ उनले भने ‘वृक्षारोपणका लागि पनि स्थानीय तह, वन लगायतका सङ्घसंस्था सँग सहकार्यमा अघि बढ्ने छौ ।’ उनले अब विश्वविद्यालयमा छिटै ३ सय शय्याको अस्पताल सञ्चालनको तयारी भइरहेको बताउँदै जनताले भोलिका दिनमा अस्पतालमा पनि अपनत्वको भावना जगाउन पनि सरसफाइको अभियानले सहयोग गर्ने अपेक्षा लिएको बताए । जनसहभागिताको यो अभियानले भोलिका दिनमा विश्वविद्यालयमा सबैको अपनत्वको भावना बढेर यस क्षेत्रको शान्त वातावरण स्थापनाका लागि पनि सहज हुने उनले बताए ।

विगत लामो समय देखिको बहुप्रतिक्षित यस विश्वविद्यालयमा चालु शैक्षिक सत्र देखि नै एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सँगै ३ सय शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी भइरहेको छ । जसका लागि सरकारले ऐन कानुन निर्माण देखि बजेट समेत सुनिश्चितता गरिसकेको छ । लामो समयको प्रतीक्षा पछि विश्वविद्यालय सञ्चालन हुने अपेक्षा सहित यस क्षेत्रका जनता पनि हाल दैनिक रूपमा झाडी सफाइमा जुटेका छन् ।