अत्तरिया– निसर्ग हस्पिटल धनगढीमा नियमित निःशुल्क खोप सेवा सुरु भएको छ । अस्पतालले आज (शनिबार) देखि बालबालिकालाई लक्षित गरी नियमित निःशुल्क खोप सेवा सुरु गरेको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच खोप सेवाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. मेराज आलम अन्सारी, नर्सिङ डाइरेक्टर मञ्जु केसी, नर्सिङ प्रशासक शिमा शर्मा, युनिसेफ तथा स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र, डा. दीपक पौडेल, डा. सुनिल तामाङलगायत अस्पतालका कर्मचारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

अस्पतालका अनुसार अब प्रत्येक शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म नियमित रूपमा निःशुल्क खोप सेवा सञ्चालन हुनेछ । यस सेवाबाट बालबालिकालाई समयमै खोप लगाउन सहज हुने तथा खोप सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न नियमित खोपको महत्त्वलाई मध्यनजर गर्दै अस्पतालले निःशुल्क खोप सेवा सुरु गरेको हो । अस्पतालले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई निर्धारित समयमा खोप लगाउन आग्रह गरेको छ ।


















