धनगढी – सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आइतबार वर्षा भइरहेको छ । प्रदेशका नौवटै जिल्लामा अविरल वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रदेशको तराईका धनगढी, अत्तरिया, महेन्द्रनगरलगायतका क्षेत्रमा वर्षा भइरहेको छ भने पहाडी जिल्लामा पनि वर्षा जारी छ । लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम बढेको छ ।
बाजुरामा अविरल वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिरोले केही स्थानमा घरमा समेत क्षति पुगेको छ ।


वर्षाका कारण तराईका नदी तथा तटीय क्षेत्रमा बाढीको जोखिम र पहाडी क्षेत्रमा पहिरो तथा बाढीको जोखिम रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयहरूले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।
लगातारको वर्षाका कारण सडक तथा यातायात सेवा प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि सम्बन्धित निकायले अनुरोध गरेका छन् ।

















