खाेज्नुहाेस

हर्मुज पारवहनबारे ओमानसँग इरानको समझदारी

Image

काठमाडाैँ– इरानले विश्वको महत्त्वपूर्ण जलमार्ग हर्मुज जलघाँटीबाट व्यावसायिक जहाजको पारवहन व्यवस्थापनसम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान र अमेरिकाबीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको ६० दिने वार्ता अवधि कुनै ठोस सहमतिबिना सकिन लागेका बेला आएको हो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै हर्मुज जलघाँटीमा जहाजको पारवहन मार्गसम्बन्धी समझदारी भइसकेको र त्यसलाई संयुक्त वक्तव्यमार्फत अन्तिम रूप दिने काम भइरहेको बताए।

attariya hospital

उनले विस्तृत विवरण नदिए पनि यसअघि सार्वजनिक भएका विवरणअनुसार प्रस्तावित व्यवस्थामा इरानतर्फको जलमार्गबाट जहाज प्रवेश गर्ने र ओमानतर्फको जलमार्गबाट बाहिरिने व्यवस्था हुन सक्नेछ। अन्तरिम अवधिमा जहाजलाई शुल्क वा टोल नलिई पारवहन गराउने विषयमा पनि छलफल भएको बताइएको छ।

अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुअघि हर्मुज जलघाँटी व्यावसायिक ढुवानीका लागि पुनः खोल्नुपर्ने माग गर्दै आएको छ । तर इरान र ओमानबीच तयार भइरहेको व्यवस्थाले अमेरिकी अपेक्षा पूरा गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन।

navjiwan hospital

इजरायल र अमेरिकासँगको युद्धपछि इरानले प्रभावकारी रूपमा हर्मुज जलघाँटीमा जहाजको आवागमन सीमित गरेको थियो । युद्धअघि विश्वको कुल व्यापारिक तेल आपूर्तिको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो।

बाघाईले ओमानसँगको वार्ता अपेक्षाकृत ढिलो भएको स्वीकार गर्दै नक्सासम्बन्धी समझदारी र संयुक्त वक्तव्यलाई एउटै प्याकेजका रूपमा अन्तिम रूप दिने योजना रहेको बताए।

यसैबिच इरान र अमेरिकाबिच युद्ध अन्त्यका लागि तय गरिएको ६० दिने वार्ता अवधि सकिन लाग्दा पनि दुवै पक्षबीच सहमतिको स्पष्ट सङ्केत देखिएको छैन। वार्ता अवधि थप गर्ने विषयमा पनि तत्काल कुनै घोषणा भएको छैन।

मध्यपूर्वमा जारी तनावकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा मध्यपूर्व वार्ताकार जारेड कुसनरले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। कुसनरले त्यसअघि इजिप्टमा हमासका नेता खलील अल–हय्यासँग समूहको निशस्त्रीकरणबारे छलफल गरेका थिए।

इजरायलले गाजामा युद्धविरामका लागि अमेरिकाको समर्थनमा अघि सारिएको १५ बुँदे योजनालाई अस्वीकार गरेपछि कुसनर र नेतान्याहुबिचको भेटवार्ता भएको हो। हमासले भने उक्त योजनामा सहमति जनाउँदै मध्यस्थकर्ता र अमेरिकी नेतृत्वमा गठित शान्ति बोर्डलाई इजरायललाई पनि योजना स्वीकार गर्न बाध्य पार्न आग्रह गरेको छ।

योजनाअनुसार इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुनुपर्नेछ। तर इजरायलले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म आफ्ना सेना फिर्ता नहुने अडान राख्दै आएको छ। इजरायली सेनाले हाल गाजाको करिब ६० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ भने प्रधानमन्त्री नेतान्याहुले सैन्य कारबाही थप अघि बढाउने चेतावनीसमेत दिए।