खाेज्नुहाेस

मुख्यमन्त्री भट्टद्धारा सेती अस्पतालको निरीक्षण

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन । शुक्रबार मुख्यमन्त्रीको शपथ भट्ट आइतबार अस्पतालको समग्र अवस्था बुझ्न निरीक्षणमा पुगेका हुन । मुख्यमन्त्री भट्टले अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी), डायलायसिस सेवा, सघन उपचार कक्ष (आईसीयू), गाइने वार्डलगायत विभिन्न विभाग तथा वार्डको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनले अस्पतालको भौतिक तथा सेवा प्रवाहको अवस्था सन्तोषजनक नरहेको बताए ।

navjiwan hospital

सुदूरपश्चिमका लाखौँ नागरिकको स्वास्थ्य सेवाको प्रमुख भरोसाको केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको अवस्था अपेक्षाअनुसार नरहेको मुख्यमन्त्री भट्टको भनाइ थियो । ‘सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमका लाखौँ जनताको भरोसा रहेको अस्पताल हो । तर यहाँको अवस्था हेर्दा ठीक देखिएन । वार्डमा बिरामीको अवस्था बेजोग छ, इमर्जेन्सीमा बेड छैन, ट्वाइलेटमा फोहोर छ । समग्रमा हेर्दा सेती अस्पताल आफैँ बिरामीजस्तो देखियो,’ उनले भने । मुख्यमन्त्री भट्टले आफ्नो पहिलो निर्णय नै स्वास्थ्य क्षेत्र केन्द्रित रहेको भन्दै प्रदेशको स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताए । विशेषगरी डायलायसिस सेवा विस्तारसँगै सेती प्रादेशिक अस्पतालको समग्र सुधारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनको भनाइ छ ।

attariya hospital

‘मेरो धेरै लामो कार्यकाल त छैन । चमत्कारै गर्न सक्छु भन्ने होइन, तर सुधार गर्न सक्छु । यहाँ धेरै समस्या देखेको र सुनेको पनि छु,’ मुख्यमन्त्री भट्टले भने । अस्पतालबाट बिरामीलाई अनावश्यक रूपमा निजी अस्पतालतर्फ पठाउने गरिएको भन्ने गुनासोप्रति समेत प्रदेश सरकारले अध्ययन गर्ने बताए । सेती अस्पतालबाट ‘सेटिङ’मा बिरामी बाहिर पठाइने गरेको भन्ने गुनासो आफूले सुनेको भन्दै त्यसको वास्तविकता अध्ययन गरिने उनको भनाई छ ।