कञ्चनपुर – महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल छेउको पोखरीमा समूहमा जंगली हात्ती आउँदा नजिकका बस्तीका बासिन्दामा त्रास देखिएको छ । बस्तीनजिकै तीन वटा जंगली हात्ती देखिएका हुन् ।

महाकाली नदी किनारको पोखरीमा आइतबार बिहानै स्थानीयले समूहमा चर्दै गरेका तीन वटा हात्ती देखेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकले हात्तीलाई निकुञ्जतर्फ पठाउने प्रयास गरे पनि सफल भएका छैनन् ।

ड्रोन उडाएर र पटाका पड्काएर पनि हात्ती पोखरीबाट बाहिर ननिस्केको निकुञ्जका पशु चिकित्सक डा. आभास श्रेष्ठले बताए । ‘वरिपरी पानी भएकाले नजिक जान सकिने अवस्था पनि छैन, ड्रोन उडाएर पनि हे¥यौं तर निकुञ्जतर्फ फर्काउन सकिएन,’ उनले भने, ‘अब हात्तीलाई बस्तीतिर जान नदिने नै हाम्रो प्रयास हुन्छ, दिनभरि कुरेर बस्नुपर्ने हुन्छ ।’
अहिले हात्तीहरु पोखरीको बीचमा भएको घाँस चरिरहेका छन् । वरिपरी दलदल र पानी भएका कारण नजिक जान सकिने अवस्था छैन । डा. श्रेष्ठका अनुसार हात्तीहरु निकुञ्जबाटै महाकाली किनारैकिनारको बाटो आएको अनुमान गरिएको छ । भाइरल रोड भएरै हात्ती आएको उनले बताए ।


















