काठमाडौँ – छायांकनको तयारी गरिरहेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशसँगै फिल्मको लाइनअप बलियो भएको छ । फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने विषयमा केही पनि खुलाइएको छैन ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको मुख्य भुमिकामा अभिनय रहने गरेर विपिन भित्रिएका हुन् । टंक वुढाथोकीको कथा तथा निर्देशन रहने फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्मको हाल धमाधम प्रि प्रोडक्सनको काम चलिरहेको छ । फिल्ममा यसअघि नायिका पूजा शर्मा, नायक महेश त्रिपाठी, कलाकारहरू सरोज खनाल र किरण केसी फाइनल भइसकेका छन् । पूजा र विपिनले पहिलो पटक फिल्मको पर्दामा एकसाथ काम गर्न लागेका हुन् ।


फिल्म ‘मन विनाको धन २’लाई सामाजिक कथावस्तुमा निर्माण गर्न लागिएको हो । गतवर्ष रिलिजमा आएको फिल्म ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोडको ग्रस कलेक्सन गरेको थियो । यो फिल्मको सफलताले उत्साहित टंकले यस पटक ‘मन विनाको धन २’लाई अझै बलियो बनाउने बताएका छन् ।

















