काठमाडौं । सिक्किमकी युवा फिल्म निर्देशक त्रिवेणी राईको डेब्यू फिचर फिल्म ‘सेप अफ मोमो’ यही मे २९ अर्थात् यही जेठ १५ गते शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ । भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ भने फिल्ममा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन् ।
डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ । फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ ।
फिल्ममा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन्। फिल्मको छायाङ्कन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन् । ध्वनि डिजाइन अंकिता पुर्कायस्थाको रहेको छ ।


निर्देशक राईले ‘शेप अफ मोमो’ आफ्नो व्यक्तिगत अनुभव र वरपरका महिलाहरूको जीवनबाट प्रेरित भएर बनाइएको बताएकी छन् । ‘मेरो पहिलो फिल्म आफूले नजिकबाट देखेको संसारबाट आउनुपर्छ भन्ने लाग्थ्यो’ उनले भनेकी छन् । उनका अनुसार स्वतन्त्र फिल्महरूलाई हलसम्म ल्याउन चुनौतीपूर्ण हुने भए पनि फिल्म भारत र नेपालमा प्रदर्शन हुन लाग्नु टोलीका लागि महत्त्वपूर्ण उपलब्धि हो ।
यो फिल्म ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ । राना दगुबत्तीले फिल्मलाई ‘शान्त तर गहिरो प्रभाव छोड्ने कथा’ को संज्ञा दिएका छन् । उनका अनुसार ‘स्पिरिट मिडिया’ भावनात्मक इमान्दारितासहित आफ्नै परिवेशमा गहिरो जरा गाडेका कथाहरूलाई प्राथमिकता दिने गर्छ ।
कार्यकारी निर्माता जोया अख्तरले फिल्मले सिक्किमेली महिलाहरूको जीवनलाई अत्यन्त आत्मीय र प्रामाणिक ढंगले प्रस्तुत गरेको बताएकी छन् । त्यस्तै रिमा काग्तीले नयाँ क्षेत्र र नयाँ पुस्ताका फिल्मकर्मीहरूबाट भारतीय स्वतन्त्र फिल्ममा रोचक कामहरू भइरहेको उल्लेख गर्दै ‘शेप अफ मोमो’ त्यसै यात्राको हिस्सा बनेको प्रतिक्रिया दिएकी छन् । अर्की कार्यकारी निर्माता पायल कपाडियाले भने फिल्मलाई ‘घरको खोजीमा रहेकी युवतीको भावनात्मक यात्रामाथिको संवेदनशील कथा’ भनेकी छन् । उनका अनुसार फिल्म समकालीन भए पनि भावनात्मक रूपमा गहिरो र प्रभावशाली बनेको छ ।
















