काठमाडौं – गत वैशाख २५ गते एकसाथ रिलिज भएका तीन नेपाली फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ले राम्रो व्यापार गरेको देखिन्छ।
लालीबजार’ ले जेठ २ गतेसम्म तीन करोड ४२ लाख ६१ हजार ७७९ रूपैयाँ ग्रस कलेक्सन गरेको छ। नौ दिनको अवधिभर यस फिल्मलाई एक लाख १४ हजार ४६८ दर्शकले हेरेका छन्।

त्यस्तै, वर्षा राउत र विजय बराल अभिनीत फिल्म ‘मालती मंगले’ ले ४४ लाख ७८ हजार ६०८ रूपैयाँ ग्रस कमाएको छ। जुन अवधिभर फिल्मका फिल्मको १३ हजार ८९० वटा टिकट बिक्री भएका छन्।

अर्को फिल्म ‘गुरूआमा’ ले २८ लाख ४४ हजार ४५१ रूपैयाँ ग्रस कमाएको छ। यो फिल्मको आठ हजार ९७४ वटा टिकट बिक्री भएका छन्। ‘लालीबजार’ र ‘मालती मंगले’ प्रदर्शनअगावै बहिष्कारको चपेटामा परेका थिए। यद्यपि बलियो ‘वर्ड अफ माउथ’ ले ‘लालीबजार’ ले राम्रो पिकअप लिएको देखिन्छ। पहिलो साताभन्दा दोस्रो साताको शनिबार र आइतबार फिल्मको शोसहित दर्शकको संख्या बढेको देखिन्छ।
यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।
प्रेम कथा रहेको फिल्म ‘मालती मंगले’ मा वर्षा राउत र विजय बराल मुख्य भूमिकामा छन्। प्रकु पाण्डेयको कथा र निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्। गायक रामकृष्ण ढकालको डेब्यु लगानीमा बनेको फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।
‘गुरु आमा’ शैक्षिक कथावस्तुमा बनेको फिल्म हो।यसमा मिथिला शर्मा, गौरी मल्लसहित पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसीलगायतको अभिनय छ।



















