काठमाडौं – उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।
अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।


न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।
‘२२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ । यसबारे भोलि पेसी तोकिएको छ’ सूचना अधिकारी कोइरालाले भने, ‘यसबारे बुधबार छलफल हुन्छ । फाइल आएपछि पुनः हेर्छौं ।’
यसअघि अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
१८ वैशाखदेखि रिलिज तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो ।



















