काठमाडौँ – वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको रिलिज मिति जुराएको हो । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।


मनोवैज्ञानिक कथावस्तुमा आधारित यस फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारको मुख्य भूमिका छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा रहेका छन् । फिल्मको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् ।
फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन, युग भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । निर्माण व्यवस्थापन भोला सुबेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन्।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाह नेपाली फिल्ममा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनले यसअघि थुप्रै सफल फिल्म दिएका छन्।


















