काठमाडौं – ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ। बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो।

प्रत्येक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई ‘डिजे म्याग’ ले उत्कृष्ट क्लबहरूको सूची प्रकाशित गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुकका लागि गौरवको विषय भएको बताएका छन्। उनले भने, ‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ।’
उनले अगाडि भने, ‘टप सय क्लबको सूचीमा ४० औं स्थानमा पुग्नु रात्रिकालीन जीवनशैली तथा पर्यटन प्रवर्द्धनका लागि उल्लेखनीय उपलब्धि हो। यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।’


















