मेरो देशको सनातन संस्कृति मास्ने संविधान!
देशद्रोही, भ्रष्टाचारी, बलात्कारी जघन्य अपराधीलाई समेत,

गणतन्त्र दिवसको निहुँ पारेर छाड्ने संविधान!
चुनावताका झुटो आश्वासन बाँड्ने संविधान!
त्यसपछि, ‘काले काले मिलेर खाऊँ भाले’ भन्दै विपरीत ध्रुव समेत गाँस्ने संविधान!
बिदेसिएका नेपालीहरूको रेमिटेन्स चल्ने,
तर, भोट नचल्ने संविधान!
आम जनताले सर्वाधिक रुचाएको व्यक्ति राष्ट्र प्रमुख बनेको देख्नै नपाउने संविधान!
मन नपरेको प्रतिनिधिलाई ‘मन पर्दैन’ भन्नै नपाउने संविधान!
गल्ती गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउनै नपाइने संविधान!
गाडी चलाउन शैक्षिक योग्यता चाहिने,
तर, देश चलाउन शैक्षिक योग्यज्ञता र सम्बन्धित क्षेत्रको विज्ञता नै नचाहिने संविधान!
कार्यकर्ता भर्ती केन्द्र बनाउन दुनियाँसँग भिक मागेर,
सेतो हात्ती (प्रदेश सरकार)पाल्ने संविधान!
नेता, कार्यकर्ता व्यवस्थापन गर्न कै लागि अनावश्यक बढी सांसद, मन्त्री पद बाँड्ने संविधान!

स्थानीय तहमा पार्टीहरूको अनावश्यक बोलवाला र हस्तक्षेप हुन दिने संविधान!
कोही बाहुन क्षेत्री भएकै कारण आरक्षण र कोटाको अन्यायमा पर्नु पर्ने संविधान(गरिबी,असक्षमता या क्षमताको कुरै नगर्ने संविधान)!
शिल्पी/वैज्ञानिक/कलाकार समुदायलाई बारम्बार ‘दलित दलित’ भन्दै अवहेलनासाथ थप कमजोर बनाउने संविधान!
अन्य आरक्षित समुदायलाई पनि जरो बलियो बनाउने होइन, पात पातमा भिटामिन छर्कने संविधान!
समानुपातिकको अनावश्यक बोझ, दुरुपयोग लुटै लुट भएको संविधान!
विद्यालय, कलेज, न्यायालय, स्वास्थ्य क्षेत्र जहाँ सुकै फोहोरी राजनीति छुट भएको संविधान!
न्यायालय र अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नै भ्रष्ट मान्छे मात्रै पुर्याउन मद्दत गर्ने संविधान!
सधैँ चोरलाई चौतारो र साधुलाई शूली चढाउन मद्दत गर्ने संविधान!
हो, यी सबै कुरा संशोधन त गर्न दिने संविधान!
तर, तथानाम जालझेल गरेर, र जति पनि पार्टी खोल्न दिएर,
उक्त संविधान संशोधन गर्न चाहने असल व्यक्तिलाई नेतै बन्न नदिने र असल पार्टीहरूको दुई तिहाइ कहिल्यै पुग्नै नदिने संविधान!
कसरी मानूँ, तिम्रो संविधान?
लक्ष्मण दियाल
बेलौरी, कञ्चनपुर



















