म निःस्वार्थी र इमानदार विद्यार्थी हुँ, सधैँ राम्रो सोच्छु,
सधैँ राम्रो कर्म गर्नु। आफ्नो धर्म ठान्छु ।

असल संस्कारले भरिएको समाज बनाउन चाहन्छु,
आमाबुवालाई र गुरुलाई आफ्नो मार्गदर्शक ठान्छु ।
म मेरा सपनाहरूलाई आफैँ पूरा गर्न खोज्छु,
तर मेरा समस्याहरूले मलाई पछाडि धकेलेको देख्छु।
मेरो समाजको पीडा कसैले दुःखमा त कसैले सुखमा देख्छन् ।
टाउकोमा हात राखेर आफैँलाई प्रश्न गर्दा जवाफ भेट्टाउँदिनँ !
विषमताको गहिराइमा डुबेर हेर्दा मलाई यस्तो महसुस हुन्छ
समानताको ज्योति आफैँले प्रज्वलित गर्नुपर्छ ।
जब म गरिबहरूका झुपडीहरूमा अँध्यारो र चिसो देख्छु,
सोच्छु कि मैले त्यो निभेको आगोलाई सल्काएर उज्यालो छर्न सक्छु।
जब म समाजलाई नियाल्छु, एउटा भिन्न दृश्य पाउँछु
भविष्यका कर्णधारहरू पुस्तकभन्दा चरेसको नजिक देख्छु।

यो विकृतिको जिम्मेवारी समाजले पनि लिनुपर्छ भन्ने म सोच्छु।
मलाई लाग्छ, म यो अन्धकार चिर्न चेतनाको दियो बाल्छु।
म देख्छु मेरा विद्यार्थी भाइबहिनीहरू गरिबीको चपेटामा छन्।
अब उनीहरूको उज्ज्वल भविष्यका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ।
म आफैलाई देशको असल नागरिक बन्नुपर्छ ठान्छु,
जसले देशलाई यो दुःख र अभावबाट मुक्त गराउन सक्छ।
अस्पतालका ती बेड र भित्ताहरूमा बिरामीहरूको पीडा सुन्छु।
मलाई लाग्छ म उनीहरूको घाउमा शीतल लेप बन्न सक्छु ।
देशमा दक्ष जनशक्तिको अभावै अभाव देख्छु,
मलाई विश्वास छ म त्यो रिक्ततालाई एक दिन भर्न सक्छु।
देशमा राजनीतिक अस्थिरता देख्दा आफैँलाई हारे जस्तै लाग्छ ।
राजनीतिक परिदृश्य हेर्दा आफैँलाई कमजोर पारे जस्तै लाग्छ ।
कहिले म न्याय र अन्यायमा कानुनको दोष देख्छु,
लाग्छ त्यही कानुनलाई सुधारेर लेख्न सक्छु।
कवि भागरथी धामी दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।



















