पुरन सिंह दयाल – डिलासैनी गाउँपालिका वडा नम्बर ३ गिरेबगड बैतडीका १४ वर्षीय किरण कोलीको श्रावण १७ गते उच्च विद्युतीय प्रवाहले हुन गएको मृत्युको खबरले दुखित तुल्याएको छ । मृतक आत्माको, चिर शान्तिको कामनाका साथ परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
मृत्यु भन्ने कुरा कुनै पनि उमेर कुनै पनि कारण नै भए पनि दुःखद नै हुन्छ । त्यसमा फेरि किरण १४ वर्षको बाल्यकालका बाबुका टुहुरा र गरिब दलित परिवार भएकाले झन् संवेदनशील बनेको छ घटना । घटना साउन १७ गतेको भएतापनि भाद्र ५ गते आएर अतिरञ्जित रूपमा जसरी सामाजिक सञ्जालमा स्थानीय व्यक्तिबाट नभईकन राष्ट्रिय तहमा नै दलित प्रति हुने अन्याय–अत्याचारका विरुद्ध सशक्त रूपमा अहिले आवाज बुलन्द गरी अगाडि बढी रहनु भएका खगेन्द्र सुनारको दुरुपयोग गरेको देखिएको छ । घटनाको जुन बयान खगेन्द्र सुनारबाट अभिव्यक्त गराइएको छ, उक्त कुरा भारत भ्रमणमा रहनु भएका खगेन्द्रबाट भए होला भन्ने कुरा पत्याउन न सक्ने अवस्था छ । कुनै स्थानीय व्यक्तिले मन्त्री सुरेन्द्र बहादुर पाल र पार्टीका विरुद्ध अतिरञ्जित रूपमा लेखेर सुनार कहाँ पठाई ‘एक तीर दो निसाना’ गर्न खोजेको देखिन्छ । किन भने उक्त समय मन्त्री नै फिल्डमा नभईकन काठमाण्डौं भएको देखिनु हुन्छ ।

घटना बालुवाको थुप्रोसँग जोडिएर मन्त्री पालसँग पुग्न सक्छ तर, मन्त्रीका मुखबाट अभिव्यक्त गरिएका शब्द चयनले एक छिनका लागि गाउँका जनता भन्दा बाहिरका मानवीय मूल्य मान्यता प्रति श्रद्धा गर्ने व्यक्ति एवं दलित समुदाय अति आक्रोशित हुन पुग्यो । त्यो मामिलामा योजनाकार सफल भएको देखिन्छ । तर सामाजिक सञ्जाल र अन्य माध्यमबाट त्यस घटनासँग सम्बन्धित परिवारजनका अन्तरवार्ता र समाचारहरूले दलित अभियन्ता खगेन्द्र सुनार प्रति नै अविश्वासको वातावरण सृजना गर्दै गयो । यसले सुनारलाई मात्र नभै समुदायलाई पनि क्षति हो, किनभने केही यथास्थितिवादी बाहिरबाट ठुला परिवर्तनकारी देखिए पनि भित्रबाट उत्पीडित समुदायका मौलिक हक विरुद्ध हुन्छन् । अहिलेको राष्ट्रिय राजनीतिको उथल पुथल हेर्दा प्रष्ट हुन्छ को कहाँबाट कहाँ पुग्दैछन ।

यिनी आफ्नो दुनो सोझ्याउन सफल देखिए पनि यस समुदायलाई कुन शब्दबाट सम्बोधन गर्दा रहेछन् र यसको अस्तित्व कस्ता निकृष्ट व्यवहारबाट सिध्याउँदा रहेछन् भनेर आफ्नो स्वरूप देखाएका छन् । घटनाको रूपरेखा जुन खगेन्द्र सुनारको स्ट्याटसमा मन्त्रीको मुखबाट अभिव्यक्त भएको देखाइएको छ त्यो नै सत्य हो भने पार्टीका समर्थकहरूले जति बचाउन खोज्दा पनि मन्त्रीलाई जोगाउन सकिँदैन । होइन भने त्यसमा कानुनसँग सम्बन्धित व्यक्ति डिआर. लोहार आफ्नो कमेन्टमा भन्नु हुन्छ ‘न्यायिक छानबिन गरौँ, दोषीलाई कार्वाहिको दायरामा ल्याउनुपर्छ । फेसबुक, हल्लाका पछाडि कोही न लागौँ ।’
पार्टीगत र जातिगत हिसाबमा सबैलाई एकै तराजुमा जोख्न मिल्दैन । व्यक्ति पिच्छे स्वभाव र गुण ज्ञान फरक हुन्छ । यसै सुदूरपश्चिम प्रदेशका अमर शहीद दशरथ चन्द, भीमदत्त पन्त र जयपृथ्वी बहादुर सिंह सामन्ती परिवार र ब्राह्मणवादी कुल घरानासँग प्रत्यक्ष सम्बन्ध राख्नु हुन्थ्यो । के उहाँहरूले आफ्नो नस्लको अतिवादको संरक्षण र संवर्धन गर्नुभयो र ? वहाँहरूले आफ्नै घरानाका अतिवादीहरूको जीउ ज्यानको वास्ता नगरी प्रतिकार गर्नु भयो । त्यस्तो उद्दम शक्ति भएका व्यक्ति सधै पैदा हुँदैनन् ?
तर मैले आफ्नो राजनीतिक लाइनका व्यक्ति आरोपित हुन लागेको कारण पक्षपोषणका लागि नभईकन जुन किसिमका नस्लवादी आरोप पाल मन्त्री प्रति अभिव्यक्त भई रहेका छन् त्यसलाई मध्यनजर गरी अभिव्यक्त गरेको हो । दिन प्रतिदिन विकसित भई रहेका आरोप प्रत्यारोपको सत्य तथ्य छानबिनले परिणाम बाहिर आउने छ ।
पार्टीसित सम्बन्धित टिप्पणीकारहरूलाई पनि जुन किसिमले मान मर्यादा सिध्याउने गरी आफू मात्रै न्याय र समानताको क्रान्तिकारी प्रमाणित गर्ने युवाहरूले यो पनि बुझ्नु नितान्त जरुरी छ की जातीय हिसाबले दलित माथिको घटना मिच्न खोज्ने व्यक्ति एघारौँ वर्षको लागि जेल जीवन भोगी रहनुभएको छ । विगतका दलित आन्दोलनको परिणाम स्वरूप नै अदालतले दोषी करार गरेपछि केही यसै जिल्लाबाट भगौडा भएका छन भने केही देश भित्र आउन पाएका छैनन । सर्वहारा श्रमजीवी समुदायका हित विपरित काम गरे वापत पार्टी भित्रकै नेतृत्व पंङ्तिका व्यक्तिहरूलाई विगतमा कारबाही गराइएका उदाहरणहरु छन् । दास रैतीहरूलाई त उम्काइएका छन । सत्य तथ्य कुरा थाहा नै नभए आफ्ना अग्रजहरूलाई सोधपुछ गर्दा हुन्छ ।
मृतक किरण कोलीको विधवा आमाको संरक्षणको जिम्मेवारी नेपाल सरकारको हुन्छ । घटनाको वास्तविक छानबिन हुनु पर्छ । आमा र छोरालाई उहाँहरूको भविष्यको सुनिश्चितता हुने किसिमले व्यवस्था पनि गरियोस् । घटित घटना अर्कै कारणले र खगेन्द्र सुनारबाट अभिव्यक्त घटना अर्को भएको मात्र नभै उक्त घटना झुटो भए खगेन्द्र सुनार जेल जान तयार छु भन्न लगाउनको तात्पर्य उहाँको सक्रियता र विश्वसनीयता प्रति पनि खोट लगाउने देखिन्छ । अतः पुष्टि न गर्दै दलितका मुद्दा भनेर अभिव्यक्ति दी हाल्नु उहाँको लागि पनि हितजनक देखिँदैन ।

















