अनिल पन्त – २०७४ साल कार्तिक २३ । यो मिति मेरो जीवनको पुस्तकमा एउटा अत्यन्त दुखद अध्यायको रूपमा अंकित छ । त्यो दिन मैले मेरो जीवनका मार्गदर्शक, सल्लाहकार, र साँचो साथी, मेरा बाबालाई सधैंका लागि गुमाएँ । उहाँको सादा जीवन, महान सोच र अथक परिश्रमप्रतिको आस्था मेरा लागि अमूल्य धरोहर हुन् । उहाँले हामीलाई सिकाउनुभएको इमानदारी, अनुशासन, र कर्तव्यनिष्ठाको मूल्य आज पनि मेरो जीवनको मेरुदण्ड बनेको छ ।
तर, बाबाको वियोगसँगै आएको अन्धकारको गहिराइ मैले कहिल्यै बिर्सन सक्दिन । त्यो शून्यताले मेरो मन मात्र होइन, मेरो जीवनको आधारलाई नै हल्लाइदियो । त्यो कठिन क्षणमा, भगवान्ले मलाई एउटा अनुपम उपहार दिनुभयो । मेरा भगवान् रूपि अंकल र ममतामयी आन्टी । तपाईंहरू दुवैजना मेरो जीवनको पुनर्जन्मका कारण हुनुहुन्छ ।

बाबाको स्थानमा बाबुजस्तो साथ

अंकल, तपाईंले मेरो हात त्यहीँ समाउनुभयो जहाँ बाबा छोडेर जानु भएको थियो । तपाईंको बोलीमा दृढता, व्यवहारमा इमानदारी, र आँखामा माया मिसिएको थियो । तपाईंले मलाई जीवनका हरेक पाइलामा साथ दिनुभयो । चाहे त्यो पढाइमा प्रोत्साहन होस्, कठिन समयमा ढाडस दिन होस्, वा भविष्यका सपनाहरूलाई पूरा गर्ने साहस दिन होस् । तपाईंको माया केवल शब्दमा होइन, हरेक कर्ममा देखिन्थ्यो । अंकल–आन्टी, तपाईंहरूले मलाई केवल अभिभावकको रूपमा मात्र होइन, प्रेरणाको स्रोतको रूपमा पनि साथ दिनुभयो । तपाईंहरूको संयुक्त माया, त्याग र मार्गदर्शनकै कारण आज म आत्मविश्वासी, जिम्मेवार र लक्ष्यप्रति दृढ व्यक्ति बनेको छु । तपाईंहरूको योगदान शब्दमा मापन गर्न सकिन्न । यो त जीवनभरको आशीर्वाद हो ।
तपाईंहरूको उदाहरणबाट मैले सिकें कि जीवनमा धैर्यता, ईमानदारी र मेहनत नै साँचो सफलता हो । जब–जब म कुनै कठिनाइमा पर्छु, तपाईंहरूको सल्लाह र सिकाइ नै मेरो मार्गदर्शक हुन्छ ।
आज बुवाको मुख हेर्ने दिनमा, मेरो मनमा दुई भाव एकैसाथ उम्लिरहेका छन् । बाबाप्रति गहिरो सम्झना र अंकल–आन्टीप्रति अपार कृतज्ञता । बाबा, तपाईंको माया र शिक्षाले मलाई जीवनको आधार दिए, र अंकल–आन्टी, तपाईंहरूले त्यो आधारलाई अझ मजबुत बनाइदिनुभयो ।
आज म जुन स्थानमा छु, त्यसको श्रेय तपाईंहरूलाई जान्छ । तपाईंहरूको माया, सहारा र विश्वासले नै मलाई पुनः उठ्न, अघि बढ्न, र सपना पूरा गर्न सक्ने बनायो ।
– लेखक अनिल पन्त टिभी टुडे सुदूपश्चिमका निर्देशक हुन ।

















