पारस बडाल – बौद्धिक पलायन वा ब्रेन ड्रेन आज विश्वका प्रायः सबै विकासोन्मुख राष्ट्रहरूका लागि गम्भीर समस्या र चुनौतीको रूपमा देखिएको छ । यसले केवल दक्ष जनशक्ति वा मानवस्रोतको क्षय मात्र गर्दैन, बरु राष्ट्रको समग्र सामाजिक, आर्थिक, शैक्षिक र वैज्ञानिक प्रगतिलाई दीर्घकालीन रूपमा असर पार्छ । दक्ष, शिक्षित, प्रतिभाशाली र सृजनात्मक व्यक्तिहरू आफ्नो जन्मभूमि छोडेर अन्य विकसित राष्ट्रमा स्थायी बसोबास गर्ने वा त्यहाँ रोजगारी खोज्ने प्रक्रियालाई नै बौद्धिक पलायन भनिन्छ । सामान्यतया हेर्दा यो व्यक्तिगत रोजगारीसँग सम्बन्धित विषय हो भन्ने लाग्न सक्छ, तर वस्तुतः यसले राष्ट्रको नीति निर्माण, अनुसन्धान र नवप्रवर्तन क्षमतामा गहिरो असर पु¥याउँछ । विशेष गरी नेपालजस्ता विकासोन्मुख मुलुकका लागि यो विषय अझ संवेदनशील बनेको छ किनभने यहाँको शैक्षिक र सामाजिक प्रणालीले उत्पादन गरेको दक्ष जनशक्ति विदेश पलायन भएसँगै देशभित्रै अनुसन्धान, नवप्रवर्तन र विकासको सम्भावना क्रमशः कमजोर हुँदै गएको छ ।
नेपालमा बौद्धिक पलायन लामो समयदेखि देखिँदै आएको पुरानो तर अझै समाधान नभएको समस्या हो । यहाँका उच्च शिक्षा प्राप्त विद्यार्थी, डाक्टर, इन्जिनियर, वैज्ञानिक र अनुसन्धानकर्ताहरू आफ्नो सीपअनुसारको रोजगारी र जीवनस्तर प्राप्त गर्न नसकेर विदेश जान बाध्य छन् । योग्य जनशक्ति विदेशिने तत्कालीन परिणामको रूपमा देशभित्र सेवा र प्राविधिक क्षमतामा कमी देखिन्छ, अनुसन्धानको गति कमजोर हुन्छ, र नेतृत्व विकासमा अभाव सिर्जना हुन्छ । दीर्घकालीन परिणाम अझ गम्भीर हुन्छ, किनभने यसले देशको नवप्रवर्तन क्षमतालाई ह्रास गराउँछ, समाज सुधारको गति सुस्त पार्छ र राष्ट्रलाई आर्थिक रूपमा परनिर्भर बनाउँछ । दक्ष जनशक्ति बाहिरिने यो प्रवृत्तिले राष्ट्रलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न कठिन बनाउँछ र वैज्ञानिक, सामाजिक तथा आर्थिक विकासमा अवरोध खडा गर्छ ।

यस समस्याका कारणहरू बहुआयामिक छन् । सबैभन्दा पहिले, आर्थिक अवसरको अभावलाई प्रमुख कारणका रूपमा लिन सकिन्छ । नेपालमा उच्च शिक्षित व्यक्तिहरूले आफ्नो दक्षता अनुरूपको रोजगारी पाउन सक्दैनन् । धेरै डाक्टर, इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ वा शिक्षकहरूले आफ्नो अध्ययनअनुरूपको आय र मान्यता पाउने सम्भावना देख्दैनन् । त्यस्तै, विकसित राष्ट्रहरूले आकर्षक तलब, सामाजिक सुरक्षा, स्वास्थ्य सुविधा र अनुकूल कार्य वातावरण उपलब्ध गराउने भएकाले नेपाली युवाहरू त्यतातर्फ आकर्षित हुन्छन् । दोस्रो ठूलो कारण भनेको अनुसन्धान र नवप्रवर्तनको कमी हो । नेपालमा अनुसन्धानमा पर्याप्त लगानी छैन, विश्वविद्यालयमा अनुसन्धान संस्कृति कमजोर छ, उद्योगसँगको सहकार्य न्यून छ । जसका कारण उच्च शिक्षित जनशक्तिले आफ्नो सीप र ज्ञानको पूर्ण उपयोग गर्न सक्दैनन् । तेस्रो महत्वपूर्ण कारण भनेको राजनीतिक अस्थिरता र प्रशासनिक कमजोरी हो ।
बारम्बार हुने राजनीतिक परिवर्तन, भ्रस्टाचार र अस्थिर नीति निर्माणले दीर्घकालीन योजना कार्यान्वयन गर्न असम्भव बनाउँछ । यसले बौद्धिक वर्गलाई निराश बनाउँछ र उनीहरू स्थायी र न्यायपूर्ण वातावरण खोज्दै विदेशतर्फ लाग्छन् । त्यस्तै, सामाजिक सम्मानको कमी पनि महत्वपूर्ण कारण हो । नेपालमा दक्ष जनशक्तिलाई पर्याप्त सम्मान र मान्यता दिने संस्कृति कमजोर छ । उच्च शिक्षा प्राप्त युवाले आफ्नो योगदानको मूल्यांकन नपाउँदा निराश हुन्छन् र आत्मसन्तुष्टि प्राप्त गर्न विदेशी भूमिमा अवसर खोज्छन् ।
बौद्धिक पलायनका असरहरू तत्कालीन र दीर्घकालीन दुवै छन् । तत्कालीन प्रभावमा योग्य जनशक्ति बाहिरिने, सेवाको कमी देखिने, अनुसन्धान र प्राविधिक क्षमता कमजोर हुने, नेतृत्व विकासमा कमी देखिने जस्ता समस्या देखिन्छन् । तर दीर्घकालीन रूपमा यसको प्रभाव अझ गम्भीर हुन्छ । यसले राष्ट्रको नवप्रवर्तन क्षमतामा गिरावट ल्याउँछ, वैज्ञानिक अनुसन्धान कमजोर बनाउँछ, अर्थतन्त्रको गति सुस्त पार्छ र आत्मनिर्भरता गुमाउँछ ।

बौद्धिक पलायनका असरहरू तत्कालीन र दीर्घकालीन दुवै छन् । तत्कालीन प्रभावमा योग्य जनशक्ति बाहिरिने, सेवाको कमी देखिने, अनुसन्धान र प्राविधिक क्षमता कमजोर हुने, नेतृत्व विकासमा कमी देखिने जस्ता समस्या देखिन्छन् । तर दीर्घकालीन रूपमा यसको प्रभाव अझ गम्भीर हुन्छ । यसले राष्ट्रको नवप्रवर्तन क्षमतामा गिरावट ल्याउँछ, वैज्ञानिक अनुसन्धान कमजोर बनाउँछ, अर्थतन्त्रको गति सुस्त पार्छ र आत्मनिर्भरता गुमाउँछ । यसरी, बौद्धिक पलायनले राष्ट्रलाई सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले कमजोर बनाउँछ, जसले गर्दा दीर्घकालीन रूपमा विकास र समृद्धिको सम्भावनामा बाधा उत्पन्न हुन्छ ।
तर बौद्धिक पलायनलाई केवल नकारात्मक दृष्टिले हेर्नु उपयुक्त हुँदैन । कतिपय अवस्थामा यसले अवसर पनि सिर्जना गर्दछ । विदेश गएका बौद्धिक व्यक्तिहरूले आफ्नो अनुभव, सीप र लगानी फर्काएर मातृभूमिको विकासमा योगदान दिन सक्छन् । उनीहरूले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न, प्रविधि हस्तान्तरण गर्न र लगानी भित्र्याउन सक्ने सम्भावना हुन्छ । यसलाई “स्मार्ट पलायन” वा ट्यालेन्ट रिटर्न मोडेलको रूपमा उपयोग गर्न सकिन्छ । उदाहरणका लागि, प्रविधि, शिक्षा, स्वास्थ्य र व्यवसायका क्षेत्रमा विदेशमा कार्यरत नेपालीहरूले नेपालमा महत्वपूर्ण योगदान दिन सक्ने अवसर प्रशस्त छन् । त्यसैले, बौद्धिक पलायनलाई नकारात्मक रूपमा मात्र होइन, अवसरका रूपमा पनि हेर्न सकिन्छ, यदि यसको सही व्यवस्थापन गर्न सकियो भने ।
यस समस्याको समाधानका लागि सरकार, समाज र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ । आर्थिक अवसर सिर्जना गरेर योग्य जनशक्तिलाई देशमै राख्नुपर्नेछ । प्रतिस्पर्धात्मक तलब, सामाजिक सुरक्षा र अनुकूल कार्य वातावरण उपलब्ध गराउनुपर्छ । अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर विश्वविद्यालय र उद्योगबीचको सहकार्य बलियो बनाउनुपर्छ । राजनीतिक स्थिरता कायम गरी पारदर्शी प्रशासनिक प्रणाली विकास गर्नुपर्छ, जसले बौद्धिक वर्गमा विश्वास जगाउँछ । त्यस्तै, दक्ष जनशक्तिलाई सामाजिक सम्मान र मान्यता दिनु आवश्यक छ । सार्वजनिक रूपमा सम्मान, पुरस्कार र अवसर प्रदान गरेर प्रतिभालाई देशमै रोक्न सकिन्छ । यसका साथै, निजी क्षेत्रले रोजगारी सिर्जना गर्न, नवप्रवर्तन प्रोत्साहन गर्न र प्राविधिक विकासमा लगानी गर्न अग्रसर हुनुपर्छ ।
यसरी हेर्दा बौद्धिक पलायन केवल व्यक्तिगत रोजगारीसँग सम्बन्धित निर्णय मात्र नभई राष्ट्रको दीर्घकालीन विकाससँग सम्बन्धित गम्भीर विषय हो । यसलाई पूर्ण रूपमा रोक्नु सम्भव नहुन सक्छ, तर यसलाई व्यवस्थापन गरेर अवसरमा परिणत गर्न सकिन्छ । नेपालले आफ्नो योग्य जनशक्ति देशमै राखेर आर्थिक, सामाजिक र वैज्ञानिक प्रगति गर्न सक्छ, यदि समयमै सही कदम चालियो भने । त्यस्तै, विदेश गएका जनशक्तिको सीप र अनुभवलाई “स्मार्ट पलायन” को अवधारणामार्फत मातृभूमिको विकासमा प्रयोग गर्न सकिन्छ । त्यसैले, बौद्धिक पलायनलाई समस्या मात्र नभई अवसरका रूपमा पनि बुझ्न आवश्यक छ । उचित रणनीति र दीर्घकालीन योजनासहित सरकारले, समाजले र निजी क्षेत्रले सहकार्य गरे बौद्धिक पलायनलाई चुनौती होइन, राष्ट्रिय विकास र समृद्धिको बाटो खोल्ने अवसरमा रूपान्तरण गर्न सकिन्छ ।
(लेखक दार्चुला बहुमुखी कम्पसका बिद्यार्थी हुन् ।)


















