खाेज्नुहाेस

उत्तराखण्ड बाढीमा बेपत्ता हुने नेपालीको संख्या २६ पुग्यो, १३ जनाको उद्धार

Image

कञ्चनपुर– भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता हुने नेपालीको संख्या २६ पुगेको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना नेपाली बेपत्ता सूचीमा रहेका छन् ।

सडक निर्माणको काममा ज्यालादारी गर्न बंकुरा पुगेका उनीहरू सडक किनारमै टेण्ट गाडेर बसिरहेका थिए । बुधबार टेन्टसहित उनीहरुलाई पहिरोले बगाएको हो । उनीहरूको खोजीका लागि आफन्तहरू समेत बंकुरा पुगेपनि नभेटिएपछि किरिया गर्ने भन्दै घर फर्किएका छन् ।

attariya hospital
navjiwan hospital

उत्तरकाशीको धराली क्षेत्रमा मंगलबार आरिघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ । गंगोत्री धामबाट बग्ने भागीरथी नदीको किनार र धामको अन्तिम बजारको रूपमा रहेको धराली बाढीपश्चात बगरमा परिणत भएको छ । बाढीले धरालीका दर्जनौँ घर तथा होटेलहरु पुरिएका छन् भने कतिपय बगेर भागीरथीमा पुगेका छन् ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । दिल्ली स्थित नेपाली दूतावासका अनुसार धराली क्षेत्रबाट हालसम्म १३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू हरिद्वार र देहरादुन क्षेत्रमा बसिरहेका छन् । कतिपय धरालीमै सञ्चालन गरिएको सामुदायिक भान्सामा समेत आश्रय लिई बसेका छन् ।

‘विभिन्न जिल्लाबाट सम्पर्कविहीन भनेर लिस्ट आइरहेको छ, त्यही लिस्ट उत्तरकाशी प्रशासनलाई बुझाएर बुझ्ने कोसिस भइरहेको छ’ दूतावासका काउन्सिलर प्रकाश मल्लले भने, ‘अहिले सम्म उत्तराखण्डको बाढीमा परेर २६ जना बेपत्ता भएका छन् भने १३ जनाको उद्धार गरिएको छ ।’ उनका अनुसार विगतमा बेपत्ता भनिएकाहरू भेटिन थालेकाले बेपत्ता हुनेको संख्या अझै घटबढ हुन सक्ने देखिन्छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा सुचारु भएपछि खोजीको काम तीब्र भएको छ ।