खाेज्नुहाेस

सम्झना मृत्यु प्रकरणमा पुजा पक्राउ, शवको अन्त्येष्टि

Image

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले शुक्रबार थप एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्टलाई पनि नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा यसअघि मृतकका श्रीमान् पवन भट्ट, ससुरा हरिदत्त भट्ट, सासू किरण भट्टलाई नियन्त्रणमा लिई कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पूजा पवनकी दिदी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक बोहोराका अनुसार मृतकका माइती पक्षले प्रहरीसमक्ष बुझाएको एक अडियोमा सम्झनाको हत्या गर्न पूजाले पवनलाई आदेश दिएको सुनिन्छ ।

attariya hospital

अडियोमा ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भन्ने शब्द प्रयोग भएको प्रनाउ बोहराले बताए । उनले उक्त अडियोको विषयमा पनि छानबिन भइरहेको बताए । शुक्रबार पवनकी दिदी पूजालाई पनि नियन्त्रणमा लिएर आत्महत्या गर्न दुरुत्साहन दिन नहुने शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बोहराको भनाई छ ।

navjiwan hospital

शवको अन्त्येष्टि

प्रहरीले पुजा भट्टलाई नियन्त्रणमा लिएपछि सम्झनाको शवको अन्त्येष्टि गरिएको छ । सम्झनाका माइती पक्षले घटनाको मुख्य योजनाकार पूजा रहेको आरोप लगाउँदै आएकाले पुजालाई नियन्त्रणमा लिएपछि शवको दाहसंस्कार गरेको प्रहरीले जनाएको छ ।

दोषी उपर कारबाहीको माग गर्दै सम्झनाका आफन्तले शव उठाउन दिएका थिएनन् । मृतकको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको थियो । घटनामा संलग्न रहेको आशङ्कामा मृतकका माइती पक्षले चार जनामाथि किटानी जाहेरी दिएका थिए तर यसअघि प्रहरीले पूजालाई नियन्त्रणमा लिएको थिएन । पूजालाई पक्राउ नगरुन्जेल शव नउठाउने अडान लिएको थियो । शुक्रबार पूजा पक्राउ परेपछि सम्झनाको माइती पक्षले शवको दाहसंस्कार गरेको प्रनाउ बोहराले बताए ।

साउन १८ गते बिहान बेलडाँडी गाउँपालिका–२ स्थित सिंह पालटोलमा घरभित्र झुन्डिएको अवस्थामा सम्झना मृत फेला परेकी थिईन । प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो ।