खाेज्नुहाेस

संघर्ष र सफलताको संगालो जीवन

Image

मानव जीवन संसारकै सबैभन्दा अनमोल, अनौठो र अर्थपूर्ण उपहार हो । यसले केवल शारीरिक अस्तित्वलाई मात्र नभई भावनात्मक, मानसिक र सामाजिक आयामहरूलाई समेत समेट्छ । प्रेम, मित्रता, सदाचार, अनुशासन र आशाजस्ता मानवीय मूल्यहरू मानव जीवनका आधार स्तम्भ हुन् । अन्य प्राणीहरूको तुलनामा मानिसमा सोच्ने, कल्पना गर्ने, निर्णय गर्ने र आत्मसमीक्षा गर्ने अद्वितीय क्षमता हुन्छ, जसले जीवनलाई सार्थक, उद्देश्यपूर्ण र सिर्जनशील बनाउँछ । यसैले मानव जीवन केवल बाँच्ने कुरा होइन, राम्ररी बाँच्ने, अर्थपूर्ण तरिकाले बाँच्ने कला हो भन्ने बुझ्न जरुरी हुन्छ ।

जीवन के हो भन्ने प्रश्नले मानव इतिहासभरि दार्शनिक, वैज्ञानिक र आम मानिसहरूलाई सोच्न बाध्य बनाउँदै आएको छ । जीवनको अर्थ केवल जन्मिएर मरेर सकिने क्रियाकलाप होइन, बरु चेतनाको गहिरो अनुभव र सामाजिक सन्दर्भमा सक्रिय सहभागीता पनि हो । जीवनको यस्तो जटिल र बहुआयामिक स्वरूपले गर्दा हरेक व्यक्ति त्यसलाई फरक तरिकाले बुझ्छ, अनुभव गर्छ र व्याख्या गर्छ । कोही जीवनलाई आत्मा–उन्नतिको मार्ग ठान्छन् भने कोही सामाजिक उत्तरदायित्व र मानवतामूलक सेवाको रूपमा लिन्छन् ।

add everest academy
attariya hospital

व्यक्तिहरूको जीवनप्रतिको दृष्टिकोण समय, समाज, संस्कार र भोगाइअनुसार फरक–फरक हुन्छ । कसैले जीवनलाई सुख, आनन्द र प्रेमको खोजको रूपमा हेर्छन् भने कसैले त्यसलाई संघर्ष, जिम्मेवारी र कर्तव्यको यात्राको रूपमा अनुभव गर्छन् । यस्ता भिन्न दृष्टिकोणहरूले नै जीवनलाई बहुरूपी बनाउँछन् । जीवन केवल लक्ष्यमा पुग्ने दौड होइन, यात्राको अनुभूति, आत्म–खोज र सम्बन्धको अभ्यास पनि हो । मानिसले जब जीवनका विविध पक्षहरू बुझ्न र अनुभव गर्न सिक्छ, तब मात्र ऊ पूर्ण रूपमा बाँच्न सक्षम हुन्छ ।

दार्शनिक र वैज्ञानिक दृष्टिले पनि मानव जीवनको अर्थ गहिरो छ । रबिन्द्र नाथ टेगोरले जीवनलाई “साँचो सौन्दर्य प्रेम र सिर्जनामा निहित छ” भनेर परिभाषित गरेका छन्, जसले जीवनको मानवीय संवेदना र सौन्दर्यलाई उजागर गर्छ । अर्कातर्फ वैज्ञानिक विलियम जेम्सले “सकारात्मक सोच र जीवनप्रतिको विश्वास नै मानव जीवन हो” भनी जीवनको मानसिक ऊर्जा र दृष्टिकोणमा जोड दिएका छन् । यी परिभाषाहरूले देखाउँछन् कि मानव जीवन केवल जैविक प्रक्रिया होइन, बरु चेतना, आशा, सिर्जना र उत्तरदायित्वले भरिएको एक गहिरो यात्रा हो ।
मानव जीवन सुख, दुःख, सफलता, असफलता, अनिश्चितता, अस्थिरता र सङ्घर्षको मिश्रण हो । यिनै विविध पक्षहरूले जीवनलाई यथार्थपरक बनाउँछन् । हरेक मानिसले आफ्नो जीवनमा अनेकौं उतारचढावको सामना गर्नुपर्छ, तर यस्ता परिस्थिति सकारात्मक सोचका साथ बुझेको खण्डमा जीवनलाई अगाडि बढाउने प्रेरणा मिल्छ । जीवनको सुन्दरता नै यस्ता अनुभवहरूको स्वीकृति र रूपान्तरणमा निहित हुन्छ ।

मानव एक चेतनशील, सामाजिक र सृजनशील प्राणी हो । उसले आफ्नो विवेक, अनुभव र बौद्धिक क्षमताको प्रयोग गरी नयाँ विचारहरू सिर्जना गर्दछ र जीवनलाई निरन्तर विकासतर्फ उन्मुख गराइरहेको हुन्छ । यिनै क्षमताहरूले मानिसलाई अन्य प्राणीहरूबाट अलग बनाउँछन् । मानव समाजको विकास, संस्कृति, विज्ञान र प्रविधिको प्रगति मानिसकै सृजनात्मक क्षमताको प्रमाण हो ।

attariya technical collage

जीवनलाई अर्थपूर्ण, शिष्ट र अनुशासित बनाउन इमानदारी, सदाचार, शिक्षा, संस्कार र सकारात्मक सोच अनिवार्य हुन्छ । शिक्षाले मानिसलाई सही र गलत बीच छुट्याउन मद्दत गर्छ भने संस्कारले नैतिक मूल्यहरूमा दृढ बनाउँछ । सकारात्मक सोचले व्यक्ति शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपले सशक्त बन्ने मार्ग देखाउँछ । यस्तो समन्वयले मानव जीवनलाई समृद्ध, सन्तुलित र उद्देश्यपूर्ण बनाउँछ ।

navjiwan hospital

मानव जीवन सुख, दुःख, सफलता, असफलता, अनिश्चितता, अस्थिरता र सङ्घर्षको मिश्रण हो । यिनै विविध पक्षहरूले जीवनलाई यथार्थपरक बनाउँछन् । हरेक मानिसले आफ्नो जीवनमा अनेकौं उतारचढावको सामना गर्नुपर्छ, तर यस्ता परिस्थिति सकारात्मक सोचका साथ बुझेको खण्डमा जीवनलाई अगाडि बढाउने प्रेरणा मिल्छ । जीवनको सुन्दरता नै यस्ता अनुभवहरूको स्वीकृति र रूपान्तरणमा निहित हुन्छ ।

जीवनले हरेक दिन नयाँ अनुभव, चुनौती र सम्भावनाहरू ल्याइरहेको हुन्छ । जब मानिसले जीवनलाई गहिराइमा हेर्छ, त्यहाँ अनेक अर्थ, सवाल र उत्तर लुकेका पाइन्छन् । कहिलेकाहीँ अप्रत्याशित र अकल्पनीय घटनाहरू पनि जीवनमा घट्छन्, जसले नयाँ ज्ञान, अनुभूति र सिकाइका ढोका खोलिदिन्छ । त्यसैले जीवनलाई केवल भोग्ने होइन, बुझ्ने र सिक्ने प्रक्रियाका रूपमा लिन सक्दा मात्र यसको गहिरो अर्थ प्रकट हुन्छ ।

हरेक मानिसको जीवनमा आ–आफ्नै कथा र व्यथा लुकेका हुन्छन् । विशेष गरी नेपाली सन्दर्भमा हेर्दा, अझै पनि धेरै नेपालीहरू गरिबीको रेखामुनि जीवन बिताइरहेका छन् । आधारभूत आवश्यकता—जसमा खाना, लुगा, बास, शिक्षा र स्वास्थ्य—समेत पूरा गर्न नसक्ने अवस्था चिन्ताजनक छ । यस्तो जीवन परिस्थितिले उनीहरूमा निराशा, पीडा र असहायताको भावना जन्माउँछ । यस्ता वास्तविकताले मानव जीवनको भोगाइलाई कठोर बनाउँछ र सामाजिक विभाजनलाई अझ गहिरो पार्छ ।

समयको गतिसँगै मानव जीवन पनि निरन्तर परिवर्तनशील रहन्छ । हरेक मानिसले आफ्नो जीवनमा सफलताका साथसाथै असफलताको अनुभव पनि गर्ने गर्छ । जीवनका यस्ता उतारचढावले मानिसलाई धैर्य, सहनशीलता र आत्मबलका पाठ सिकाउँछन् । असफलतालाई पराजयको रूपमा होइन, नयाँ अवसरको ढोका ठानेर अघि बढ्न सक्नु नै मानवताको उच्चता हो । यही सोचले व्यक्तिको मानसिक दृढता निर्माण गर्छ ।

मानव जीवन चुनौती र सङ्घर्षले भरिएको हुन्छ । चुनौतीहरूले मानिसलाई समस्याहरूको सामना गर्दै सही निर्णय लिने सामथ्र्य दिन्छन्, भने सङ्घर्षले जीवनका मूल्य र सिद्धान्तहरू बुझ्न मद्दत गर्छ । संघर्षले निखारिएको जीवन नै बलियो, संवेदनशील र सफल जीवनको आधार हो । जब मानिस चुनौतीको सामना गर्न तयार हुन्छ, तब उसले जीवनको सार्थकता अनुभूति गर्न थाल्छ ।

मानव जीवन एउटा सतत यात्रा हो, जहाँ दिशा र गति आफैले निर्धारण गर्नुपर्ने हुन्छ। जीवनलाई स्वार्थ, लोभ र अहंकारले भरिएको बनाउने कि सेवा, प्रेम, ज्ञान र सदाचारको बाटोमा डो-याउने भन्ने निर्णय मानिस आफैंले गर्नुपर्छ । हरेक व्यक्तिको सोच, रोजाइ र व्यवहारले उसको जीवनको गुणस्तर निर्धारण गर्छ । त्यसैले जीवनलाई मूल्यवान, सकारात्मक र मानवतापूर्ण बनाउने जिम्मेवारी पनि व्यक्तिको आफ्नै काधमा आउँछ ।

हरेक दिनका सुनौला किरण र नयाँ अवसरलाई स्वीकार गर्दै जीवनको यात्रालाई सकारात्मक दृष्टिकोणले अघि बढाउनु नै मानव जीवनको सार हो । जीवन स्थिर नभई निरन्तर परिवर्तनशील प्रक्रिया भएकाले हरेक दिन नयाँ सम्भावनाहरूको ढोका खोल्दै आउँछ । यस्ता अवसरहरूलाई उत्साह, साहस र सरलताका साथ आत्मसात गर्न सक्नु नै साँचो जीवन बोध हो । जीवनका उतारचढावलाई सहज रूपमा स्वीकार गर्दै, हरेक क्षणलाई अर्थपूर्ण बनाउँदै बाँच्न सक्नु नै मानव अस्तित्वको मूल आधार र उपलब्धिको संकेत हो । यसर्थ, जीवन केवल समय बिताउने साधन होइन, बरु सजग र सृजनशील यात्राको नाम हो, जसलाई चेतनशील व्यवहार र जिम्मेवार सोचद्वारा सार्थक बनाउन सकिन्छ ।

(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन ।)