कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला दमाइको छाउगोठमा सर्पले टेकेर मृत्यु भएकोपछि सुरु गरिएको छाउगोठ भत्काउने अभियान सुस्ताएको छ । असार अन्तिम साता कमलाको मृत्यु भएपछि नगरपालिकाले तत्काल सबै वडा कार्यालयलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । १५ दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो । घटनालगत्तै छाउगोठ भत्काउने अभियान ताते पनि अहिले भने सुस्ताएको छ ।
कृष्णपुर–१ निगालीकी सरस्वती मल्लले घटना भएपछि जनप्रतिनिधि तातेका भएपनि पछिल्लो समय सुस्ताएको बताइन । ‘एक–दुई दिन त जनप्रतिनिधिदेखि सबै ताते, तर अहिले सबै चुप लागे,’ कृष्णपुर–१ निगालीकी सरस्वती मल्लले भनिन्, ‘दुई–चार वटा छाउगोठ भत्काइए, त्यसपछि स्थानीयले पनि मानेनन्, जनप्रतिनिधि पनि आउन छाडे ।’


कृष्णपुरका नगरप्रमुख हेमराज ओझाले गत सातासम्म निगाली क्षेत्रमा १८ छाउगोठ भत्काइएको बताए । उनले छाउगोठ भत्काउने काम सम्झाउँदै बुझाउदै भइरहेको बताए । ‘यो काम एकैचोटि हुँदैन, बिस्तारै सबैलाई सम्झाउँदै गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कसैको धानखेत छ, कतै राजनीतिको कारणले पनि अवरोध भइरहेको छ ।’ उनका अनुसार केही व्यक्तिले संस्कृति भन्दै छाउगोठ भत्काउन अवरोध गरेका छन् । अहिले जनप्रतिनिधि, गैरसरकारी संस्था र सुरक्षाकर्मीको टोलीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आएपछि फेरि अभियान सुरु गरिने उनको भनाइ छ ।
नगरपालिकाले दिएको चेतावनीअनुसार १५ दिनभित्र सबै छाउगोठ भत्काइएका छैनन्, न त कसैलाई कारबाही नै भएको छ । कृष्णपुरले गत वर्ष वडा–१ को कुमगडामा ४ छाउगोठ भत्काएको थियो । तर, त्यसपछि स्थानीयको विरोध र टोलीमाथि हातपात भएपछि अभियान रोकिएको वडा–१ का अध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार वडाभर १२६ छाउगोठ छन् र भत्काउन कार्यपालिका सदस्य रत्ना बोहराको संयोजकत्वमा समिति बनेको छ ।
मुलुकी अपराध संहिता २०७४ ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारका रूपमा लिएको छ । दफा १६८ को उपदफा ३ अनुसार महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था छ । उपदफा ४ अनुसार त्यस्तो गर्ने व्यक्तिलाई तीन महिना कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । राष्ट्रसेवकले उल्लंघन गरे थप तीन महिना कैद हुने व्यवस्था छ ।

















