खाेज्नुहाेस

वडाध्यक्षले फिर्ता गराए सुरो नेपालबाट ठगिएका गोदावरीका किसानको उजुरी

Image

अत्तरिया – कैलालीको गोदावरीमा पावर टिलर दिने भन्दै ठगिएका ५० किसानले उजुरी फिर्ता लिएका छन् । एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै ठगिएका गोदावरी नगरपालिका ४, ६ र ८ का किसानले असार २४ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा दिएको उजुरी फिर्ता लिएका हुन ।

सुरो नेपालको नाममा गोदावरी नगरपालिका – ६ का वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी प्रीयंका चौधरीले किसानहरूबाट सङ्कलन गरेको ३६ लाख १७ हजार १२५ रुपैयाँ वडाध्यक्षले असोज मसान्त सम्म फिर्ता गर्ने भन्दै कागज गराएपछि किसानहरूले उजुरी फिर्ता लिएका छन् । उनीहरू सँग असार २६ गते नै वडाध्यक्षले सुरो नेपालले रकम फिर्ता नदिए आफ्नो जायजेथाबाट रकम फिर्ता गर्ने सम्झौता गरेका हुन ।

attariya hospital

वडाध्यक्षले गरेको उक्त सम्झौतामा किसानका तर्फबाट राम बहादुर चौधरीले हस्ताक्षर गरेका छन् भने ५० जना किसानको रकम सहित नाम उल्लेख गरिएको छ । सम्झौतामा अनुदानमा दिने भनी रकम उठाई भाकामा कृषि उपकरण नदिइएकाले असोज मसान्त सम्ममा पनि सुरो नेपाल संस्थाले रकम उपलब्ध नगराए वडाध्यक्षले घर घरान वा जायजेथाबाट कानुन बमोजिम असुर उपर गराउने उल्लेख छ । सम्झौतामा असार २४ गते वडाध्यक्षकी बुहारी प्रीयंका चौधरीका नाममा ५० जना किसानले इलाका प्रहरी कार्यालय मालाखेतीमा दिएको उजुरी फिर्ता गर्ने उल्लेख छ ।

असार २४ गते इलाका प्रहरी कार्यालयमा आएका किसानले आफूबाट रकम सङ्कलन गर्ने वडाध्यक्षकी बुहारी सम्पर्कमा नआएको भन्दै उजुरी दिएका थिए । २०८१ साउनमा प्रीयंकाले २ महिना भित्रमा किसानहरूले माग गरेका कृषि उपकरण ७५ प्रतिशत अनुदानमा दिने भन्दै किसानहरूबाट अग्रिम रकम सङ्कलन गरेकी थिइन । प्रीयंका सँगै गोदावरीमै सोनम चौधरीले पनि ४४ जना किसानबाट रकम सङ्कलन गरेकी थिइन ।

उनी भने असार २४ गते इलाका प्रहरी कार्यालयमा उपस्थित भएर किसानको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि किसानहरू उजुरी नै नदिई फिर्ता भएका थिए ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले प्रीयंकाका विरुद्ध परेको उजुरी फिर्ता गरिदिन किसानहरूबाट निवेदन आएको बताए । उनले प्रीयंकाका ससुरा वडाध्यक्ष जग्गुराम चौधरीले रकम फिर्ता गर्ने सहमति गरेपछि उजुरी फिर्ता गरिएको बताए । उनले सोनमलाई रकम बुझाएका किसानले उजुरी नै नदिएको र, उनीहरूले पनि सहमति गरेको बताए ।

सुरो नेपालका नाममा गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिका सहित कञ्चनपुरका किसानहरू पनि ठगिएका छन् । सुरो नेपालबाट ठगिएको भन्दै कञ्चनपुरको कृष्णपुरका किसानले उजुरी दिएपछि सुरो नेपालकी अध्यक्ष सुशीला खड्का सहित सुरो नेपालमा आबद्ध प्रीयंकाकी आमा सुनिता चौधरीलाई प्रहरीले जेठ १७ गते नै पक्राउ गरिसकेको छ । दुवै जना जिल्ला अदालत कञ्चनपुरको फैसला अनुसार पुर्पक्षका लागि थुनामा रहेका छन् ।

सम्बन्धित समाचार

पावर टिलर दिने भन्दै गोदावरीमा १ सय बढी किसान ठगिए

पावर टिलर दिने भन्दै ठगिएका गोदावरीका ५० जना किसानले दिए उजुरी