खाेज्नुहाेस

पावर टिलर दिने भन्दै गोदावरीमा १ सय बढी किसान ठगिए

Image

अत्तरिया – कैलालीको गोदावरीका १ सय बढी किसान ठगिएका छन् । एक वर्ष अघि अनुदानमा पावर टिलर लगायत कृषि उपकरण दिने भन्दै किसानबाट अग्रिम रकम उठाएर ठगी गरिएको हो । किसानहरूलाई ७५ प्रतिशत अनुदानमा कृषि उपकरण दिने भन्दै २५ प्रतिशत रकम अगाडि नै बुझाउनु पर्ने सर्त अनुसार गोदावरी नगरपालिका – ६ मा मात्रै ११० किसानबाट ७० हजार देखि १ लाख ३० हजार सम्म रकम उठाइएको पाइएको छ ।

२०८१ साउनमा किसानहरूबाट उक्त रकम सङ्कलन गरेर २ महिना भित्र माग अनुसारका कृषि उपकरण दिने भनिए पनि एक वर्ष सम्म किसानले न कृषि उपकरण पाएका छन् न तिरेको रकम फिर्ता दिइएको छ ।

add everest academy
attariya hospital

उक्त वडामा वडाध्यक्ष जागु राम चौधरीकी बुहारी प्रियङ्का चौधरीले किसानबाट रकम सङ्कलन गरेकी थिइन । स्थानीय मिरा चौधरीले पावर टिलरका लागि साउन २० गते ७० हजार जम्मा गरेको भए पनि अहिले सम्म पावर टिलर नपाएको बताइन् । उनले वडाध्यक्षकी बुहारी भएकाले विश्वासले रकम दिएको भए पनि अहिले भोलि पर्सी भन्दै टार्ने गरिएको बताइन् ।

स्थानीय द्रोपती चौधरीले साउनमा रकम जम्मा गरेर भदौमा पावर टिलर दिने भने पनि अहिले सम्म नपाएको बताइन् । उनले रकम बुझाएको रसिद नदिएको र, रसिद माग्दा म आफै प्रमाण छु भनेर रसिद नदिएको बताइन् ।

स्थानीय धनी राम चौधरीले ७० हजारमै अनुदानमा पावर टिलर पाइन्छ भनेर खुसी भएर पैसा दिएको बताए । ‘पैसा लिएपछि आज, भोलि भन्दा भन्दै १ वर्ष पुगिसक्यो’ उनले भने ‘पछि फोन नउठाउने, बैठक बसेपछि बोल्न नदिएर झपार्ने, हामी दलाल हो भनेर हप्काउने गर्थे ।’ उनले एक्कासि आफूलाई पावर टिलर दिने संस्थाको अध्यक्ष जेलमा पुगेको सुनेपछि आफूहरू ठगिएको थाहा पाएको बताए ।

attariya technical collage
navjiwan hospital

‘हामीले त गाउँकै वडा अध्यक्षकी बुहारी भएकाले विश्वासले धेरै कुरा पनि नसोधेर पैसा दिएका थियौ’ उनले भने ‘हामीले नगद रकम दियौ । चेक दिँदा मानिनन् । प्रमाण माग्दा मै प्रमाण हु भनिन् ।’ उनले चार दिन अघि स्थानीय प्रहरी चौकीमा रिपोर्ट गरे पनि सुनुवाइ नभएको बताए । उनले अब इप्रका मालाखेतीमा उजुरी दिने तयारी गरेको बताए ।

वडाध्यक्ष जागु राम चौधरीको पैसा उठाउने आफ्नै बुहारी भए पनि आफ्नो भने संलग्नता नभएको बताए । ‘मैले बुहारीलाई यो सुरो नेपालको कहानी ठिक छैन । यसमा लफडा छ भन्दा पनि मानिनन्’ उनले भने ‘पछि किसानहरूले पनि फोन गरेर तपाइको बुहारीले पैसा उठाउँदै छ के गर्ने भनेर सोध्थे । तर, मैले यस विषयमा मलाई नसोध्नुस्, जानकारी छैन भनेको थिए । त्यै पनि किसानहरूको लर्को लाग्यो । धेरै किसानले फारम भरे ।’

अहिले सुरो नेपालकी अध्यक्ष सुशीला खड्का (ओझा) र रकम असुलीमा संलग्न रहेको धनगढीको बंग्रा घर भएकी सुनिता चौधरी पक्राउ परेका छन् । पक्राउ परेकी सुनिता वडाध्यक्षकी बुहारी प्रियङ्काकी आमा हुन ।

वडाध्यक्ष चौधरीले बुहारीले आमा र अध्यक्ष छुटेपछि पावर टिलर लगायतका कृषि सामग्री बाँड्ने बताउने गरेको बताए । उनले आफूले वडाबाट कुनै किसिमको पनि अनुमति नदिएको बताए । वडाध्यक्षकी बुहारी प्रियङ्काले भने यस विषयमा आफू नबोल्ने भन्दै फोन काटेकी थिइन ।

ठगिएका अधिकांश किसानले कुन संस्थाबाट प्रियङ्काले कृषि उपकरण दिन लागेको हो भन्ने बारेमा पनि नसोधेको बताएका छन् । यद्यपि पछि उनी सुरो नेपालमा आबद्ध भएको थाहा पाएको किसानहरूको भनाइ छ । सुरो नेपालका नाममा गोदावरी नगरपालिका मात्रै नभएर कैलालीका विभिन्न पालिका सहित कञ्चनपुर, बाँके बर्दियाका किसान ठगिएका छन् ।

यसै क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरी हालेपछि प्रहरीले जेठ १७ गते सुरो नेपालकी अध्यक्ष सुशीला खड्का र सुनिता चौधरीलाई काठमाण्डौंबाट पक्राउ गरेको थियो । अहिले दुवै जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।