खाेज्नुहाेस

कृष्णपुर नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम भन्दा बढी रकम दिएको खुलासा 

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निर्माण कम्पनिलाई दिनुपर्ने रकम भन्दा बढी रकम दिएको भेटिएको छ । नगरपालिकाले दुई ओटा निर्माण कम्पनिलाई करकट्टी गरेर भुक्तानी गर्नुपर्ने रकम भन्दा बढी रकम भुक्तानी गरेको भेटिएको हो ।

navjiwan hospital

कञ्चनपुरकै बेदकोटमा रहेको वि.पि. निर्माण सेवा र बैतडीको पाटन नगरपालिका– २ सिलंगामा रहेको चार भाई निर्माण सेवालाई करकट्टी गरी भुक्तानी गर्नुपर्ने रकम भन्दा ३ लाख रुपैया बढी भुक्तानी गरेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन अनुसार बि.पि. निर्माण सेवालाई नगरपालिकाले बक निगाली मछेली किनारा कटान रिंग रोड कालोपत्रे वाफत करकट्टी गरी ६३ लाख १३ हजार ७८१ रुपैया भुक्तानी गर्नुपर्ने थियो । तर नगरपालिकाले सो निर्माण कम्पनिलाई करकट्टी पछि ६४ लाख १९ हजार ७९० रुपैया भुक्तानी गरेको महालेखाको प्रतिवेदनले देखाएको छ । जसअनुसार नगरपालिकाले सो निर्माण कम्पनिलाई १ लाख ६ हजार ९ रुपैया बढी भुक्तानी गरेको छ ।

add everest academy
attariya hospital

यस्तै चार भाई निर्माण सेवालाई वडा नं. ४ कृषि सडक देखी पूर्व सेतोपुल सम्मको सडक कालोपत्रेका लागि करकट्टी सहित २३ लाख १९ हजार ९६७ रुपैया नगरपालिकाले भुक्तानी गर्नुपर्ने देखिन्छ । तर नगरपालिकाले करकट्टी गरेर सो निर्माण कम्पनिलाई २५ लाख ३० हजार ८६३ रुपैया भुक्तानी गरेको देखिएको प्रतिवेदनमा भनिएको छ । जसअनुसार नगरपालिकाले सो निर्माण कम्पनिलाई भुक्तानी गर्नुपर्ने रकम भन्दा २ लाख १० हजार ८९६ रुपैया बढी भुक्तान गरेको देखिएको छ । महालेखा परिक्षकको कार्यालयले दुवै निर्माण कम्पनिलाई नगरपालिकाले कुल ३ लाख १६ हजार ९०५ रुपैया बढी भुक्तान गरेको देखाउदै सो रकम असुल गर्न निर्देशन दिएको छ ।