खाेज्नुहाेस

झोलेहरूका नाममा

Image
पदमप्रकाश साउद – एमालेले झोले अभियान सुरु गरेपछि झोले शब्द चर्चामा छ । यद्यपि खासगरी नेपाली राजनीतिक क्षेत्रमा यो पहिलेदेखि नै चल्तीमा आएको शब्द हो । अहिले झोले शब्द बारेको बहस एमाले पार्टी बाहिर र भित्र दुवैतिर सतहमा आएको छ । देशको प्रमुख पार्टीका क्रियाकलाप जनचासोको विषय बन्नु स्वभाविक पनि हो । अझ सत्ताधारी पार्टीका नीति, कार्यक्रम तथा अभियानले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले सबैको चासोको विषय बन्ने नै भयो । पार्टी बाहिर यस अभियानले जनसरोकारका मुद्दा कसरी उठाउँछ, झोलाभित्र जनताका केकस्ता मुद्दा छन, यसको उद्देश्य के हो, यो अभियान जनतासँग कसरी जोडिन्छ र यसले आम मान्छेको दैनिक जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पार्टीभित्र यसले पार्टी जीवन, सङ्गठन, नीति र कार्यक्रममा कस्तो प्रभाव पर्छ भन्ने कुरा नै मुख्य हो ।
add everest academy
attariya hospital
केपी ओलीले यो अभियानको घोषणा गरेपछि केही एमाले (केपीका कट्टर समर्थक) नेताले सामाजिक सञ्जालमा म झोले हो पोस्ट सार्वजनिक गर्ने बाहेक केही पनि नगरेकाले यो अभियानको रणनीति के हो ? र एमालेलाई अहिले यसको सुरुवात गर्न किन आवश्यक भयो ? भन्ने कुरा केपी ओली नै जानून् । किनकि एमालेको सिङ्गो पार्टी पङ्क्ति नै यो अभियानबारे बेखबर छ । केन्द्रदेखि स्थानीय तहसम्म पार्टी जीवनमा झोले अभियानको घोषणाले न कुनै उत्साह ल्याएको छ न पार्टी पङ्क्ति परिचालित भएको देखिन्छ । बरु पार्टीभित्रै विद्रोहका स्वर सुनिदै छन् । एमाले कार्यकर्ताका लागि यो अभियान नखाऊ भने दिनभरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार भएको छ । उनीहरुमा खुलेर अभियानको पक्षमा लाग्ने दृढता पनि देखिदैन । पार्टीभित्रै यो अभियान हाँसिमजाकको विषय बनेको छ ।
attariya technical collage
navjiwan hospital
पछिल्लो चरणमा एमालेको आलोचना बढ्दै गएको र नेतृत्व विवादित बन्दै गएको पृष्ठभूमिमा आएको यो अभियानको रणनीति जनताको ध्यान टुइष्ट गर्ने हुनसक्छ । आफू प्रचण्ड बहुमतको प्रधानमन्त्री भएको बेला जनसरोकारका जल्दाबल्दा मुद्दा सम्बोधन गर्दै मुलुकलाई सबल नेतृत्व दिनुको सट्टा एकपछि अर्को विवादित काम गर्दै आएका प्रधानमन्त्री ओली सस्तो लोकप्रियता र बेतुकका भाषणबाजी गर्न मै मस्त छन् । झोले अभियान त्यसैको निरन्तरता हो । देश र जनताका कुनै मुद्दा नभए जसरी एउटा प्रमुख र सरकारको नेतृत्वकर्ता पार्टीले थालनी गरेको यो अभियानको जनतासँग कुनै सरोकार छैन । यसले क्षणिक चर्चा बाहेक देश, जनता र व्यवस्थालाई केही दिनेवाला छैन । यो अभियान कुनै उद्देश्यका प्राप्तिका लागिभन्दा केपीको घट्दै गएको राजनीतिक उचाइ र लोकप्रियताको लघुताभाषले सिर्जित हतास मनोविज्ञानबाट परिचालित देखिन्छ ।
Karma Consultancy
एमालेले यो अभियानको थालनी गरेदेखि अहिले झोले शब्दको सकारात्मक र नकारात्मक दुवै कोणबाट व्याख्या भइराखेको छ । सकारात्मक कोणबाट हेर्दा एउटा विचार, दृष्टि, दर्शन, कार्यक्रम, योजना आदिको झोला बोक्ने भन्ने अर्थमा यसको प्रयोग हुदै छ । नकारात्मक कोणबाट हेर्दा कुनै नेता र पार्टीको अन्धभक्त पिछलग्गु, सही र गलत छुट्याउन नसक्ने, हो मा हो मिलाउने, आफ्नो बुद्धि विवेकको प्रयोग गर्न नसक्ने, अरुद्वारा परिचालित भन्ने अर्थ लाग्छ । यसको सकारात्मक व्याख्या गर्नु केपी ओलीको कुरा हो, तर आम नेपाली समाजको बुझाइमा झोले शब्द नकारात्मक रुपमै बढी बुझिने र प्रयोग हुने गर्छ । झोले शब्दप्रति आम मान्छेको बुझाइ आदरयुक्तभन्दा घृणायुक्त नै बढी देखिन्छ । केपी ओलीले झोलेको सकारात्मक व्याख्या गरेपनि समाजमा यसको कुनै प्रभाव नपर्ने निश्चित छ तर उनको पार्टीमा यसको प्रभाव र असर कस्तो हुन्छ हेर्न बाँकी छ । झोले अभियानलाई मूर्त रुप दिनको लागि उनले अहिलेसम्म भाषण बाहेक कुनै कार्यक्रम पनि सार्वजनिक गरेका छैनन् । पार्टी पङ्क्ति परिचालन गरि जनतासँग यो अभियानलाई कसरी जोड्ने स्पष्ट खाका पनि छैन । यो फुर्सदमा मनोरञ्जनका लागि गरिने टाइमपास जस्तो भएर आएको छ । प्रधानमन्त्रीलाई देश, जनता र सत्तालाई टाइमपासको विषय बनाउने छुट काहीँ कतैबाट पनि छैन/हुदैन । जनताका लागि केपी ओलीको झोले अभियान उपलब्धि विहीन, निरर्थक, वाहियात, मजाक र खिसिट्युरीको विषय बनेको छ ।
जनतालाई कुनै पनि पार्टीको समर्थन र विरोध दुवै गर्न छुट छ । मानिसले आफ्नो दृष्टिकोणअनुसार कसैको समर्थन र कसैको विरोध गर्छ । यो उसको मौलिक र संवैधानिक अधिकार हो । कसैलाई पनि कुनै नेता र पार्टीको समर्थन र विरोध गर्ने अधिकारबाट वञ्चित गर्न मिल्दैन । तथापि कुनै नेता र पार्टीको पक्षधर हुदैमा नराम्रो र जनविरोधी कुराको समर्थन गर्ने नैतिक छुट कसैलाई हुदैन । अझ सचेत राजनीतिक कार्यकर्तालाई त झनै हुदैन । कुनै व्यक्ति र पार्टीको पक्षधर हुनु भनेको अन्धभक्त हुनु होइन । कसैलाई समर्थन गर्नु भनेको उसका राम्रा कुराको सम्मान र नराम्रा कुराको आलोचना गर्नु पनि हो । स्वास्थ आलोचनाले नेता र पार्टीलाई कमजोर नभइ झन बलियो, जिम्मेवार र परिपक्व बनाउँछ । एकोहोरो कुनै नेता र पार्टीको अन्धभक्त भएर समर्थन गर्ने प्रवृत्तिले नेता,पार्टी र समाजलाई पतनतिर लैजान्छ । आफू समर्थक नेता र पार्टीले गरेका जस्तोसुकै नराम्रो कुरालाई पनि पवित्र मान्ने खतरनाक प्रवृत्तिले नेपाली समाज गिजोलिएको छ ।
कुनै नेता र पार्टीको अतिशय प्रशंसा र आलोचना गर्ने प्रवृत्तिले निम्त्याउने भनेकै अराजकता र बेथिति हो । जनता र राजनीतिक कार्यकर्ताहरुले राम्रोको प्रशंसा र नराम्रोको विरोध मात्रै गरिदिए सुशासनको जग आफै बस्छ । त्यसका लागि हरेक कार्यकर्ता झोले होइन; निर्भीक, स्पष्ट र हक्की बन्न जरुरी छ । झोले बन्नु आफ्नो अस्तित्व बिर्सनु, आफ्नो मूल्य, महत्व , विचार, दृष्टिकोणलाई तिलाञ्जली दिनु र विवेकलाई बन्दकी राखेर लम्पसार बन्ने काम हो । यस्तो प्रवृत्तिले मान्छे र समाजलाई माथि उठाउदैन । यसले एकअर्कालाई सम्मानका रुपमा नहेरी दास र चाकडीबाजका रुपमा हेर्छ।गणतन्त्रले दास वा झोलेपनलाई स्वीकार्दैन् । यो स्वाभिमानी र निर्भीक नागरिक उत्पादन गर्ने व्यवस्था हो । यसले मान्छेहरूका बीच मर्यादापूर्ण सम्मानित सम्बन्धको व्यवस्था गर्छ । यसकारण झोले अभियान गणतन्त्रका विरुद्धमा छ । यसले दास मनोवृत्तिका नागरिक निर्माण गर्ने कुरूप संस्कृतिको विकास गर्छ । झोले प्रवृत्तिको समर्थन होइन् बहिष्कार गरौँ ।