धनगढी- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम लोक सांस्कृतिक समाजको आयोजनामा धनगढीको फूलबारीमा पुस २३ देखि २७ गतेसम्म लोक सांस्कृतिक तथा डेउडा महोत्सव हुने भएको छ। मङ्गलवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको बारेमा जानकारी दिइएको हो।

महोत्सवमा प्रदेशस्तरीय डेउडा कार्यक्रम, पञ्चेबाजा, सखिया, झुम्रा, लोकदोहोरी, मारुनी, र तामाङसेलो जस्ता प्रतियोगिताहरू गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिमका ९ जिल्ला सहित अन्य प्रदेशका टोलीहरूको सहभागिता रहने महोत्सवमा चर्चित डेउडा कलाकारहरूले पनि प्रस्तुति दिनेछन्।

डेउडा प्रतियोगिताका लागि पुस १८ देखि २३ गतेसम्म समूह दर्ता खुला गरिएको छ। सहभागी टोलीहरूलाई पुरस्कारको व्यवस्था गरिएको छ भने पञ्चेबाजा, भुवा, सखिया, झुम्रा र तामाङसेलोका उत्कृष्ट टोलीलाई सम्मान गरिने छ। आयोजकले महोत्सवमा प्रवेश नि:शुल्क रहेको जानकारी दिएको छ।













