टीकापुर– टीकापुरको सुकुम्बासी बस्तीका एक दम्पत्तिलाई मुख्य पात्र बनाएर लेखिएको ‘मेरो गाउँको खड्क्या मन्त्री’ उपन्यासको लोकार्पण गरिएको छ । टीकापुरमा एक समारोहका बिच स्वर्गीय गगनसिंह थापाको नवौँ कृतिका रुपमा उक्त उपन्यास लोकार्पण गरिएको हो ।
टीकापुर नगरपालिका– १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौँरी नेपालीलाई मुख्य पात्र बनाएर उक्त उपन्यास लेखिएको थियो । पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा विपन्न, उत्पीडित समुदायका नेपाली दम्पतीले नै उपन्यासको लोकार्पण गरे ।


गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारले भोगेको समस्या, पीडा, दैनिक जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ । चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्जलिकतामा जोड दिएको छ ।
गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले उक्त उपन्यासको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे । कार्यक्रममा दैलेखका दिलीप आचार्यले पुस्तक बिक्रीबाट संकलन गरेको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो । आख्यानकार स्वर्गीय थापाका यसअघि अस्ताचलको ढोकाबाट, कर्णालीको छेउछाउ, पूर्खाको चिठी गरी आठ वटा कृति प्रकाशित छन् ।
नेपाली दम्पत्तिले टीकापुर बजार क्षेत्रमा मागेर जिविकोपार्जन गर्दै आइरहेका छन् ।
