अत्तरिया – काठमाण्डौं स्थित पशुपतिको गौशाला र धर्मशाला विवादबारे कैलालीका मारवाडी एकजुट भएका छन् । कैलालीका मारवाडीले पशुपतिको गौशाला र धर्मशालामा काठमाण्डौं उपमहानगरपालिकाले गरेको हस्तक्षेपको विरोध गर्दै एकजुट भएका हुन । मारवाडी सेवा समिति कैलालीले महानगरपालिकाको विरोध गर्दै मङ्गलवार जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मारवाडी सेवा समिति कैलालीका अध्यक्ष सत्यप्रकाश मोहपाल नेतृत्वको टोलीले मङ्गलवार जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी मार्फत ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।

काठमाडौँ महानगरपालिकाले असोज २३ गते मारवाडी सेवा समाजले सञ्चालन गरेको गौशाला, धर्मशालाको बोर्ड हटाएपछि विवाद भएको थियो ।
ज्ञापन पत्रमा पशुपति क्षेत्र विकास कोषले अधिकारको दुरुपयोग गरी काठमाडौं महानगरपालिकासँग गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता गरी बिना कुनै लिखित जानकारी नगर प्रहरीहरू पशुपति गौशाला धर्मशालामा प्रवेश गरी बल प्रयोग गरेर गौशाला धर्मशालाको बोर्ड हटाई कब्जामा लिएको उल्लेख छ ।
‘मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको प्राङ्गणमा मिति २०८१ असोज २३ गतेको घटना नेपालमा बसोबास गर्ने शान्ति प्रिय मारवाडी समाजको इतिहास मै अत्यन्त भयभीत एवं कहाली लाग्दो घटना भएकोले हाम्रो सम्पूर्ण समाज डर त्रासको भयले अत्यन्त चिन्तित बनेको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘सो घटना पश्चात् हाम्रा समाजका व्यक्तिहरूलाई निजी धन सम्पत्ति समेतलाई जोखिम हुने गरी धम्कीपूर्ण भाषामा विभिन्न माध्यमबाट सूचना प्रेषित गर्ने कार्यहरू भइरहेको हुँदा सम्पूर्ण मारवाडी समाजका सदस्यहरूको जीउधनको शान्ति सुरक्षा एवं मुद्दा किनारा नलागेसम्म पशुपति गौशाला धर्मशालामा भएको गैर कानुनी हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सम्पूर्ण मारवाडी समाज विनम्र अनुरोध गर्दछौ ।’




















