काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ललितपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको मुद्दा (फिरादपत्र) दायर गरेका छन् । उनले गत भदौ १२ गते नै मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता रामसजिवन महतोले जानकारी दिए ।

राउतले श्रीमती सोनी सिन्धु घरमा नबस्ने माइतमात्र जाने गरेको फिरादपत्रमा उल्लेख छ । उनले श्रीमतीले आफ्ना छोराछोरी र परिवारको दायित्व पूरा नगरेकाले मुलुकी संहिताअनुसार आफू अलग भएर बस्न चाहेको फिरादपत्रमा उल्लेख गरेका छन् । उक्त मुद्दामा अहिले जिल्ला अदालतले म्याद तामेलीको तयारी गरिरहेको छ।


सिन्धु लामो समयदेखि भारतमा रहँदै आएको दाबी पनि उनले उक्त मुद्दामा उल्लेख गरेका छन् । राउतकी श्रीमती सिन्धु भारतीय नागरिक हुन् भने उनीहरूका दुई छोरी र एक छोरा छन् । जिल्ला अदालतका अनुसार प्रतिवादी सिन्धुको म्याद तामेलीपछि मात्र यो विवादमा पेसी सुरु हुनेछ ।
















