नेपाली हिन्दु महिलाहरूको महान् पर्व तीज नजिकै आइसकेको छ । हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वती सहित उनको पूजा आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
अनादि कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति रूपमा पाउँ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । तथापि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिव लिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज पर्व मनाउने गरिएको पाइन्छ ।

तिजको अघिल्लो दिन दर खाने गरिन्छ । परम्परागत रूपमा दरमा खीर, ढकने, सेल रोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन छ । तिजको दिनभर व्रत बस्ने भएकाले अघिल्लो दिन १२ बजे सम्म दर खाने गरिन्छ । तर, पछिल्लो समय दर खाने परिकारमा पनि परिवर्तन आउँदै गएको छ । दरका नाममा होटेल, पार्टी प्यालेसमा बनेका परिकार खाने गरिन्छ ।

दर तिजको अघिल्लो दिन खाइने भएपछि पछिल्लो समय भने १ साता अघि देखि नै होटलहरुमा कार्यक्रम गरेर दर खाने चलन बढेको छ । यसरी तिज मनाउँदा महिलाहरूले भेटघाट, रमाइलो गर्न पाउने भए पनि तिजको मौलिकता भने हराउन थालेको छ । तिजमा संस्कृतिका नाममा विकृतिहरू बढ्दै गइरहेका छन् ।
तिजलाई महँगो, तडकभडक गरेर मनाउने गरिनाले यसको नकारात्मक प्रभाव समाजमा पर्दै जान थालेको छ । आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरी मनाइए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउने गर्छन् ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराई घरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ । त्यति मात्रै नभई तीजले हिन्दु धर्मको संस्कारलाई पनि अङ्गीकार गर्ने हुनाले यसलाई धर्मको महत्त्व झल्कने किसिमले मनाउनु उपयुक्त हुन्छ । त्यसैले तीजको मौलिकतालाई मास्ने काम नगरी यसको संस्कृति, पहिचान र महत्त्व दर्साउने गरी सभ्य रूपमा तीज मनाऔँ ।
















