बैतडी – बैतडीमा १ करोड विद्युत महसुल उठाउन बाँकी रहेको छ । जिल्लामा विद्युत महसुल नबुझाएकाहरुबाट १ करोड ८ हजार ३९२ रुपैया उठाउन बाँकी रहेको हो ।

नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार जिल्लामा विजुली प्रयोग गरेर पनि महसुल नतिरेकाहरुबाट उक्त रकम उठाउन बाँकी रहेको देखिएको छ । विद्युत मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत महसुल बुझाइसक्नुपर्ने भएपनि ७ हजार २७८ ग्राहकले समयमा विद्युत महसुल नबुझाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

समयमा विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कार्य शुरु गरिने पौडेलले बताए । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय नीति अनुसार बुधबारदेखि समयमा महसुल नबुझाउनको लाइन काट्ने कार्य सुरु हुने बताईएको छ । गत बर्ष समयमा विद्युत महसुल नबुझाउने ६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको थियो । जसमा ९३ वटा सरकारी कार्यालयहरु नै रहेका थिए भने ३ वटा पार्टी कार्यालय रहेका थिए ।
लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको केन्द्रका प्रमुख पौडेलले बताए । विद्युत महसुल समयमा नबुझाउँदा ग्राहकले जरीवाना समेत तिर्नुपर्ने भएकाले समयमै विद्युत महसुल बुझाउन विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले आग्रह गरेको छ ।
















