काठमाण्डौं – नेपालमा सडक दुर्घटनामा परेर १० वर्षको अवधिमा २४ हजारको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार विगत १० वर्षमा नेपालमा विभिन्न खाले सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन् ।
एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ ।

विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू भएका छन् । सडक दुर्घटनामा परेर गत आर्थिक वर्ष ( २०८०/८१) मा मात्र दुई हजार तीन सय ६९ जनाको ज्यान गएको छ ।


सडक दुर्घटनामा गम्भीर घाइते हुनेको सङ्ख्या पनि अत्यधिक हुने गर्छ । विगत १० वर्षमा ५० हजार जनाभन्दा बढी गम्भीर घाइते भएको प्रहरीको विवरणले देखाउँछ ।



















