खाेज्नुहाेस

त्रिशुलीमा खसेर बेपत्ता भएका बस खोज्न आएको भारतीय टोली फर्किदै

Image

काठमाण्डौ । त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रु खोजीमा भारतबाट आएको उद्धार टोली आज स्वदेश फर्किने भएको छ । एक हप्ताको समय लिएर भारतबाट शनिबार (साउन ५ गते) चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किने भएको हो ।

navjiwan hospital

यसबीच उक्त टोलीले बेपत्ता बस र यात्रु भने फेला पार्न सकेन । गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ । काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए ।
बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए । तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन । घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिएका थिए । एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला प-यो । नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो ।

attariya hospital

साउन ५ गते चितवन आईपुगेको भारतीय टोलीले भोलिपल्ट अर्थात् ६ गते आइतबार बिहानैबाट प्रविधिसहित नेपाली उद्धार टोलीसँगै खोजी कार्य सुरु गरेको थियो । एकहप्ताको समय लिएर आएको भारतीय टोली शनिबारसम्म खोजीमा जुटेपनि तर न बस फेला परे, न त थप एकजना यात्रु नै ।

अब भारतीय टोली आज भारत फर्कने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘उहाँहरू (भारतीय उद्धारकर्मी) आउनुभएकै एक हप्ताका लागि हो,’ प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘सात दिनका लागि आउनुभएको थियो, आज बिदाइ गर्दैछौँ । यो अवधिमा गरिएको खोजी कार्य विविध कारणले सफल हुन सकेन । यो दुःखद् कुरा हो । तर नेपाली उद्धार टोली खटिरहेका छन् ।’ भारतीय टोली स्वदेश फर्किने भए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी नै राखेको बताईएको छ ।