काठमाडौँ- त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुको खोजीकार्यका लागि चितवन पुगेको भारतीय प्राविधिक टोलीले आइतबार बिहान घटनास्थल सिमलतालबाट खोजी सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेस रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधीक टोलीले खोजी कार्य बिहानबाट सुरु गरेको जानकारी दिए ।
शनिबार आवश्क प्रविधिसहित यहाँ आइपुगेको टोलीले जिल्ला सुरक्षा समितिसित छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरइफ)का १२ जनाको प्राविधिक टोली चितवन पुगेको हो । ‘टोलीले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्ने सोनार क्यामेरा लगायतको प्रविधि प्रयोग गरेको छ’, प्रहरी उपरीक्षक रिमालले भने, ‘जिल्ला सुरक्षा समितिको बैठकपछि हिजो नै टोली कुरिनटार पुगिसकेको थियो ।’


केही दिनअघि गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबिचको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउने बचन राजदूतले दिएका थिए ।
यही असार २८ गते वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा बिहान करिब साढे ३ बजे खसेको पहिरोमा परेका थिए । ती दुवै बस पहिरोसँगै त्रिशूली नदीमा खसेर वेपत्ता भएका थिए ।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडिएर सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म २५ जनाको शव भेटिएको छ । जसमा सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली गरी दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।