धनगढी – नेपाली कांग्रेसले पछिल्लो समय सुदूरपश्चिम सरकारका गतिबिधि ठिक नदेखिएको टिप्पणी गरेको छ । सोमबार प्रदेश ससंदिय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निबर्तमान मुख्यमन्त्री समेत रहेका दलका नेता कमल बहादुर शाहले पछिल्ला सरकारका गतिबिधि ठिक नदेखिएको बताए । एमाले, माओवादी सहितको गठबन्धन सरकार बनेपछि सुदूरपश्चिम प्रदेशमा सरकारका गतिबिधि ठिक देखिएका छैनन् दलका नेता शाहले भने ‘फागुन लागेपछि मात्रै बजेट कार्यान्वयन गर्ने परिपार्टी हामिले तोड्न खोजेका थियौँ तर यो सरकार पछि पुरानै परिपाटी हावी भयो, सरकार निर्माण भएको लामो समय बितिसक्दासम्म सकारात्मक भन्दा नकारात्मक पाटोहरु बढि हावी भएका देखिएका छन्, यो हाम्रा लागी दुर्भाग्य हो ।’

नेता शाहले प्रदेश सरकारको बजेट पुस्तिका १० दिन बित्दासम्म नआउनु शकांस्पद रहेको बताए । ‘बजेट आएको १० दिन बित्दै छ अझै हामीले बजेट पुस्तिका पाएका छैनौँ’ उनले भने ‘यत्तिका दिनसम्म बजेट पुस्तिका आउको छैन, स्थानिय तहहरुले बजेट ल्याउँदै हुनुहुन्छ, अनी स्थानिय तहलाई प्रदेशबाट आउने योजना बारे स्पस्ट नहुँदा दोहोरो योजना पर्ने सम्भावना उत्तिकै हुन्छ, प्रदेश सरकारले रातो किताब निकाल्न ढिलाई गर्नुमा बिचौलिया केन्द्रित बजेट आयोकी भन्ने शकां मान्ने पर्याप्त कारण देखिन्छन्, यो गलत हो ।’

सरकार इमान्दार भए भोलीनै बजेट पुस्तिका सार्वजनिक हुनुपर्ने काग्रेंसको अडान छ । बजेट निर्माण गर्दा कर्मचारीलाई प्रभावमा पार्ने काम भएको काग्रेंसको आरोप छ । कर्मचारीलाई दवावमा पार्ने काम भयो शाहले भने ‘श्रोतको सुनिश्चितता नभइकन हचुवाका भरमा बजेटको आकार बढाउने काम भएको छ, यसले सुदूरपश्चिमलाई गन्तब्यमा पुगाउँदैन, मात्र भ्रममा पार्ने काम हो, यसै बजेटमा कर्मचारीले सहयोग नगर्दा अर्थ सचिवलाई सरुवा गरियो, किन बजेट आएको दुई दिनमै अर्थ सचिवको सरुवा भयो यसको जवाफ सरकारले दिनुपर्छ, यत्तिका क्रियाकलाप हेर्दा बजेट राम्रो नआएको हाम्रो बिश्लेसण छ ।’ उनले बजेट कार्यान्वयनको पाटो भन्दापनि कमिसनलाई हेरेर आएको बताए ।


















