सुरेश धामी, बझाङ- बझाङको बुंगल नगरपालिकाले खरिद गरेको जेसीबी अवैधानिक रहेको आरोप लागेको छ । २०७६ सालमा खरिद गरेको जेसीबीको नगरपालिकासँग कुनैपनि कागजात तथा श्रेस्ता नभेटिएको जेसीबी छानविन समिति संयोजक ध्रुवराज जोशीले बताए ।
उनले खरिद गर्ने बेला आफू नगरपालिकामा कर्मचारी नरहेको भएपनि छानविन समितिको संयोजक भएपछि आफूले नगरपालिकामा जेसीबीका सम्पूर्ण कागजात खोज्दै गर्दा कुनैपनि कागजात नभेटाएको बताए ।


निवर्तमान नगरप्रमुख धनबहादुर विष्टका बेला खरिद गरेको जेसीबीको कुनैपनि कागजात नभएको र अवैधानिक रहेको थाहा पाएपछि स्थानीय युवा रामचन्द्र जोशीले छानविन गरीपाउँ भन्दै गत जेठमा नगरपालिकामा निवेदन दिएका थिए । त्यसपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद चापागाईले नगरपालिकाको प्रशासन शाखामा कार्यरत ध्रुवराज जोशीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेका थिए ।
छानविन समिति संयोजक जोशीले जेसीबीका कागजात खोज्दै गर्दा खरिद गर्ने बेलाको कुनैपनि कागजात फेला नपरेको र भुक्तानी गर्ने बेलामा भौचर र बुद्ध इलेक्ट्रो पावर प्रालिको ३५ लाख ९५ हजारको भ्याटबिल, १ लाख ८० हजारको बैंक ग्यारेन्टी मात्रै फेला परेको बताए । त्यसबाहेक अन्य कुनैपनि श्रेस्ता नभेटिएपछि छानविन गर्न नसकिएको उनले बताए ।
जेसीबीको हालसम्म बिलबुक लगायत अन्य कुनैपनि कागजात भेटिएको छैन । उक्त जेसीबी अहिले बिग्रिएर काम नलाग्ने अवस्थामा छ । नगरप्रमुख जयबहादुर धामीका अनुसार जेसीबीको हालसम्म कुनैपनि कागजात नभेटिएको र मर्मत गर्नको लागि पनि लाखौँ रुपैयाँ खर्च हुने भन्दै नगरपालिकाले नयाँ जेसीबी किन्नका लागि बजेट विनियोजन गरेको छ ।

















