विराटनगर- सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ । बीआर ११ एक्स ३४२९ नम्बरको स्करपियो गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट आइतबार बरामद गरेको हो ।

भारतीय गाडीमा बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा इनरुवा नगरपालिका–४ सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए । नक्कली नोटसँगै गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका उनले बताए ।


गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ । एसपी रेग्मीले रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।















